काठमाडौँ । युक्रेनलाई सघाउँदै खुला रुपमा रुसलाई चुनौति दिँदै आएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमाथि ठूलो राजनीतिक संकट आइलागेको छ । उनका सहयोगी मन्त्रीहरुले धमाधम राजिनामा दिन थालेका छन् । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसनको प्रधानमन्त्री पद सङ्कटमा परेको हो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अर्थमन्त्री सुनक र स्वास्थ्यमन्त्री जाविद युक्रेनमा हतियार पठाउने जोनसनको कदमको मन्त्रिपरिषदमै फरक मत राख्दै आएका थिए । उनीहरुले रुसविरुद्ध नाकाबन्दी लगाए त्यसको प्रत्यक्ष असर बेलायतमा पनि पर्ने बताउँदै त्यो कदमबाट पछि हट्नु पर्ने मत राख्दै आएको बताइएको छ । तर, जोनसन कसैको सुझाव नमानि युक्रेनमा युद्ध अस्त्र पठाउँदै आएका छन् ।
मन्त्रीहरु र पार्टीकै नेताहरुले राजिनामा दिएपनि जोनसन भने आफ्नो कुर्सी जोगाउने कसरतमै रहेको बीबीसीले जनाएको छ । निवर्तमान स्वास्थ्यमन्त्री जाविदले पनि जोनसनलाई राजिनामा दिन सुझाव दिएका छन् ।
पार्टीकै सुझाव नमानेर जोनसनले नदिम जहावीलाई नयाँ अर्थमन्त्री र आफ्ना चीफ अफ स्टाफ रहेका स्टीभ बाक्र्सलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका छन् । उनले मन्त्रिमण्डन पुनर्गठन गर्ने समेत बताएका छन् । तर जोनसनको मन्त्रिपरिषद्का एकजना प्रमुख सदस्य माइकल गोभले उनलाई राजीनामा गर्न भनेका छन् ।
आज स्थानीय समयअनुसार ४ बजे जोनसनको कन्जरभेटिभ पार्टीले संसदीय दलका बैठक बोलाएको छ । नेताहरुले जोनसनलाई राजिनामा दिन सुझाव दिने बताइएको छ । बैठकले पार्टीको नियम परिवर्तन गर्नेबारे पनि छलफल चलाइरहेको बीबीसीले बताएको छ । एक वर्षभित्र अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने नियम परिर्तन गरेर जोनसनलाई हटाउन चाहन्छन् । जोनसनले पार्टीभित्र अविश्वासको मतको सामना गरेको एक वर्ष पूरा भएको छैन । त्यसैले नेताहरुले जतिखेर पनि अविश्वास मत ल्याउन मिल्ने नियम बनाउनेबारे छलफलमा जुटेका छन् ।
उनीहरुले जोनसनले बेलायती जनताको भावना भन्दा पनि अमेरिका र नेटोको उद्देश्य पूरा गर्न लागेको आरोप लगाउँदै आएका छन् । युरोपिली संघबाट बाहिरिएपनि जोनसनले उनीहरुकै हितको लागि युक्रेनलाई साथ दिएको पार्टीभित्रै आरोप लागेको बताइएको छ ।
त्यसैगरी विपक्षी लेबर पार्टीका नेता कीअर स्टार्मरले आफू मध्यावधि निर्वाचनका लागि तयार रहेको बताएका छन् । उनले कन्जर्भेटिभ बचाउ गर्नै नसकिनेको बचाउ गर्ने भ्रष्ट पार्टी बनेको समेत बताए । संसद्को नियमित प्रश्नोत्तर सत्रमा बुधवार कीअर स्टार्मरले हालैका दिनमा राजीनामा दिएका मन्त्रीहरूको पनि आलोचना गरेका छन् । पहिले पद नछोड्ने निर्णयले उनीहरूमा निष्ठाको सानो अंशको समेत नभएको बताउादै स्टार्मरले प्रधानमन्त्रीलाई सत्तामा राखेर पदमा बसेकाहरूको खिल्ली समेत उडाएको समेत बताए ।
त्यस्तै, कन्जर्भेटिभ दलका सांसद तथा भूतपूर्व प्रमुख सचेतक एन्ड्रू मिचलले बीबीसीसँग जोनसनका लागि सबै सकिएको बताएका छन् । उनले जोनसन आफूहरुको प्रधानमन्त्री बन्न नसकेको र चत्रि पनि देखाउन नसकेको बताए । तर, संसदमा बोल्दै जोनसनले आफूले सन् २०१९ को निर्वाचनबाट व्यापक जनादेश पाएको र त्यो जारी रहने बताए । उनकै दलका मानिसहरूले सरकार वा पार्टी पदहरू छाड्ने क्रम जारी राखेको र सहयोगीहरूले समर्थत फिर्ता लिइरहँदा समेत जोनसन अझै कुर्सी जोगाउन लागिपरेका छन् ।
यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए । उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भयो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिए । जोनसनले दुव्र्यवहारको आरोप लागेका व्यक्तिलाई नियुक्त गरेदेखि नै भित्र र बाहिर आलोचना हुँदै आएको थियो । पछिल्लो युक्रेन घटनापछि त्यो पनि थपिएको बताइएको छ ।
जोनसनले बीबीसीलाई एउटा अन्तर्वार्ता दिएपछि मङ्गलवार साँझ राजनीतिले नाटकीय मोड लिएको हो । अन्तर्वार्तामा जोनसनले क्रिस पिन्चरविरुद्ध लागेका दुव्र्यवहारसम्बन्धी आरोपबारे थाहा हुँदाहुँदै आफूले उनलाई सहायक प्रमुख सचेतक नियुक्त गर्नु नराम्रो गल्ती भएको स्वीकार गरेका थिए । प्रधानमन्त्री कार्यालयले पिन्चरको नियुक्तिको विषयमा उठेको विवादका सम्बन्धमा बारम्बार कुरा फेरेको थियो । उक्त विवादका कारण कन्जर्भेटिभ सांसदहरूले प्रधानमन्त्रीको नेतृत्व र सरकारबारे प्रश्न गर्न थाले ।
जोनसन लकडाउनका बेला डाउनिङ स्ट्रीटमा नियम विपरित भोज गरिएको विषयमा प्रहरीले अनुसन्धान पनि गरेको थियो । त्यही विवादमा पर्दै आएको जोनसन नेतृत्वको सरकारले करवृद्धि गरेको छ । जसका कारण बेलायतको जीवनयापन जटिल बन्दै गएको छ ।
युक्रेन घटनालाई लिएर रुसविरुद्ध गरिएको नाकाबन्दीपछि युरोपमा इन्धन र ग्यासको अभाव बढ्दै गएको छ । युरोपका विभिन्न देशहरुमा रुसविरुद्ध गरिएको नाकाबन्दीको विरोधमा प्रदर्शन भइरहेका छन् । जोनसन आफै राजधानी किभ पुगेर युक्रेनलाई सहयोग गर्ने बचन दिएर फर्किएका थिए । त्यसपछि उनले युक्रेनमा भारी मात्रामा अस्त्र पठाउँदै आएकाे बताइएको छ ।