आज :

निजगढ प्रकरणमा सर्वोच्चको प्रष्टीकरण, विमानस्थल बनाउन पाँच निर्देशन, फैसलाको पूर्णपाठ सार्वजनिक

  • अनलाइन डबली

काठमाडौँ । देशमा कतिवटा र कत्रो विमानस्थल आवश्यक छ भन्ने कुरा कार्यपालिकाको अधिकार क्षेत्रको विषय भएको सर्वोच्च अदालतले प्रष्टीकरण दिएको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प खोज्न भन्दै यसअघि समाचार आएपछि सो विषयलाई समेत सम्बोधन गर्ने गरी सर्वोच्चले आफ्नो पूर्ण पाठमा कार्यपालिका र न्यायपालिकाको अधिकार क्षेत्र सम्बन्धमा समेत बोलेको छ ।

यसअघि सर्वोच्च अदालतले निजगढ विमानस्थलको विकल्प खोज्न भनेको भन्दै समाचार आएपछि सो सम्बन्धमा मन्त्री तथा सांसदहरुले न्यायपालिकाले कार्यपालिकाको अधिकारक्षेत्रमा हस्तक्षेप गरेको भन्दै त्यसको विरोध गरेका थिए ।

कहाँ र कतिवटा विमानस्थल बनाउने भन्ने कुरा कार्यपालिकाको अधिकार क्षेत्रको कुरा रहेको भन्दै त्यस विषयमा अदालतले बोल्न नमिल्ने भन्दै व्यापक विरोध भएको थियो । सो विरोधलाई समेत सम्बोधन गर्ने गरी सर्वोच्च अदालतले आफ्नो पूर्ण पाठको प्रकरण २५ मा त्यसबारेमा समेत प्रष्टीकरण दिएको छ ।

फैसलाको प्रकरण २५ मा कहाँ, कतिवटा र कति ठूलो बनाउने भन्ने विषय कार्यपालिकाको अधिकार क्षेत्रको विषय भएपनि विमानस्थल निर्माण गर्ने सन्दर्भमा वन क्षेत्रको प्रयोग गर्ने निर्णयले प्रचलित कानूनले निर्दिष्ट गरेको सर्तको परिपालना गरे नगरेको भन्ने विषय न्यायिक निरुपणको विषय बन्ने भन्दै त्यस विषयमा अदालत प्रवेश गर्न सक्ने बताएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाश मानसिंह राउत र डाक्टर मनोजकुमार शर्मा सम्मिलित बृहत पूर्ण इजलासले निजगढका सम्बन्धमा भएका यसअघिका निर्णयहरु खारेज गर्दै ‘विकल्प’ खोज्न निर्देशन दिएपछि सो सम्बन्धमा व्यापक टिकाटिप्पणी भएको थियो ।

फैसलाको पूर्ण पाठमा कार्यपालिका र न्यायपालिकाको अधिकार क्षेत्रबारे यस्तो भनिएको छ :
‘…. मुलुकभित्र कतिवटा अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्दछ भनी यसको संख्याको निर्धारण, प्राविधिक पक्षको निर्क्यौल र आर्थिक व्यवस्थापन जस्तो विषय अदालतको अधिकार क्षेत्रको विषय नभई नितान्त कार्यपालिकाको अधिकार क्षेत्रभित्र पर्ने कुरा हुन् । त्यसैले यस्तो विषयमा निरपेक्ष रूपमा प्रवेश गरी अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने राष्ट्रिय आकांक्षाको विरुद्ध कुनै निर्णय गर्नु अनुचित मात्र नभई कार्यपालिकाको अधिकार क्षेत्रमाथि अतिक्रमण समेत हुन जान्छ । तर विमानस्थल निर्माण गर्ने सन्दर्भमा वन क्षेत्रको प्रयोग गर्ने निर्णयले प्रचलित कानूनले निर्दिष्ट गरेको सर्तको परिपालना गरे नगरेको भन्ने विषय न्यायिक निरुपणको विषय बन्दछ र यस्तो विषयमा अदालतले सुनुवाइ गरी उपयुक्त आदेश जारी गर्न सक्ने नै हुन्छ ।

वातावरण र विकास एकै सिक्काका दुई पाटा भएकाले वातावरण नीति र विकास नीति बीचको विवादमा अदालतले सदैव सन्तुलन कायम गर्नुपर्ने हुनाले विकास परियोजना सञ्चालन गर्दा प्रचलित वन ऐनले गरेको व्यवस्थाको प्रतिकूल काम कारबाही भएको भन्ने दाबी लिई न्यायालयमा विवाद प्रवेश गरेको अवस्थामा ऐनको व्यवस्था बमोजिम काम कारबाही र निर्णय भए नभएको भनी न्यायिक निरूपण गर्नुलाई कुन स्थानमा विमानस्थल निर्माण गर्ने भन्ने कार्यपालिकाले निर्णय गर्ने विषय हो भन्ने मात्र आधार लिई यस्तो विषयमा न्यायालयले निर्णय गर्दा कार्यपालिकाको अधिकार क्षेत्र माथिको अतिक्रमण भयो भन्न मिल्ने देखिँदैन ।’

यस्तो छ कार्कीले निजगढमा विमानस्थल बनाउनका लागि दिएको पाँचवटा राय
क) निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि छनौट भएको बारा जिल्लाको निजगढको प्रस्तावित निर्माणस्थलभन्दा दक्षिणतर्फको सरकारी स्वामित्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरू समेतलाई जोडेर वा सो आसपासको वनक्षेत्र कम भएको अन्य स्थान, टाँगिया बस्ती रहेको क्षेत्र वा सोही इलाकाको अन्य उपयुक्त स्थानसमेतको सम्भाव्यता अध्ययन गरी विमानस्थलको आधारभूत संरचनाका लागि आवश्यक हुने क्षेत्रफल बराबरको जमीनको पहिचान गरी हाल कायम रहेको वनलाई सम्भव भएसम्म यथावत् रूपमा कायमै राख्नेतर्फ पहिलो प्राथमिकता दिई अध्ययन गर्नू गराउनू,

ख) उल्लिखित विकल्प अनुसारको क्षेत्रमा प्राविधिक वा अन्य कारणबाट विमानस्थल निर्माणको लागि उपयुक्त हुने नदेखिएमा हाल प्रस्तावित क्षेत्रमा विमानस्थलको लागि चाहिने क्षेत्रफल यकिन गरी पुनः कानूनबमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन गरी विमानस्थलको निर्माणको लागि नभई नहुने आधारभूत संरचना निर्माणका लागि न्यूनतम् वनक्षेत्रको जग्गा मात्र समावेश हुने गरी निर्माणस्थल कायम गर्नू गराउनू,

ग) विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने प्रर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आस्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नू,

घ) विमानस्थल निर्माणका लागि रूख बिरूवा काट्नु पर्ने अवस्था देखिएमा वनक्षेत्रभित्रका काटिएका रूखहरूको परिपूरणको लागि स्थान पहिचान गरी प्रचलित कानूनबमोजिम र तोकिएको मापदण्ड अनुरूप नयाँ रूख विरूवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने समेतको व्यवस्था गर्नू,

ङ) विमानस्थल निर्माणको क्रममा प्रस्तावित विमानस्थल शहरको स्थापना तथा विस्तारका लागि वनक्षेत्रको प्रयोग नगर्नू नगराउनू ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal