
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटबारे प्रश्न उठाउँदै राजीनामा मागे पनि आफूले राजीनामा नदिने बताएका छन्। अर्थमन्त्री शर्माले जनता र देशको पक्षमा बजेट ल्याएको दाबी गरेका थिए।
‘जनताको पक्षमा, देशको पक्षमा बजेट ल्याएकोले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठेकोमा त्यही गर्नुपर्छ भन्ने होइन,’ उनले राष्ट्रिय सभामा आज भने, ‘सही वा गलत इतिहासले पुष्टि गर्छ। बजेटबारे यो सरकार र म जिम्मेवारी लिन तयार छु।’
बाहिरी मानिसले करका दर चलाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले आज पनि राष्ट्रिय सभामा अर्थमन्त्रीको राजीनामा मागेका थिए।
‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’
अर्थमन्त्री बोल्ने बेला एमाले सांसदहरूले बैठक बहिष्कार गरेका थिए। अर्थमन्त्री शर्माले बजेटमा करको दर घटायो वा बढाउने अर्थमन्त्रीको जिम्मेवारीभित्रैको कुरा भएको बताएका थिए।
‘के अर्थमन्त्रीले बजेट नल्याएर अरू गर्नुपर्थ्यो त। यो अधिकार क्षेत्रभित्रको कुरा हो,’ शर्माले भने, ‘कथा बुनेर अर्कोतिर लग्नेभन्दा पनि बजेटमा लक्ष्य तोकिएको आँकडा छन्, कार्यान्वयनले जवाफ दिनेछ।’
करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे ।
‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो,’ अर्थमन्त्री शर्माले भने ‘ तर घटाउन पाइन्न भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न ।’