
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विप्लवले भत्किन र ध्वस्त हुन लागेको संसदीय व्यवस्थालाई टेका लगाउने काम गरेको बताएका छन् ।
अखिल (क्रान्तिकारी) को बिशेष राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई काठमाडौँमा सम्बोधन गर्दै संयोजक कञ्चनले यस्तो बताएका हुन् । मुखले संसदीय व्यवस्थाको बिरोध गरेर विप्लव चुनावमा गएको भन्दै संयोजक कञ्चनले जनता, पार्टी र आन्दोलनलाई धोका भएपछि क्रान्तिको झण्डा उठाउन पार्टी पुनर्गठन गरेको प्रष्ट पारे ।
विप्लवले भाषण गर्दा ‘हामी कहाँ संसदीय व्यवस्थामा जान्छौं ? जादैनौं, हामी क्रान्तीकारी भएर मर्न तयार छौं’ भन्ने गरेको भन्दै उनले तर विप्लव व्यवहारतह भने संसदीय व्यवस्थामा प्रवेश गरिसकेको बताए ।
‘विप्लवले म संसदीय व्यवस्था मान्दिन भन्दै गर्दाखेरी नै उहाँ संसदीय व्यवस्थाभित्र प्रवेश गर्नुभयो । आजभन्दा एक सय १०/१२ बर्ष अगाडी लेलिनले चुनावलाई उपयोग गरेका थिए भन्दै उहाँले नेपालको संसदीय व्यवस्थाभित्र प्रवेश गर्नुभयो ।’ संयोजक कञ्चनले भने -‘ चुनावको प्रश्न कार्यनीतिक प्रश्न नै हो । तर जतिबेला लेनिनले चुनाव उपयोग गर्नुभएको थियो, त्यो बेला जनताको भ्रमलाई चिर्न र संसदीय प्रणाली भनेको खराब व्यवस्था हो भन्ने कुरा स्पष्ट पार्न उनले चुनाव उपयोग गरेका थिए र त्यसमा सफल पनि भएका थिए । तर अहिलेको जुन परिवेशमा विप्लवले चुनावमा जानुभयो यो संसदीय व्यवस्थाका खराबीहरुलाई उजागर गर्न होइन कि भत्किन लागेको संसदीय व्यवस्थालाई टेका लगाउने हो ।’
बिगतमा प्रचण्ड, माधव नेपाल, केपी ओली, सिपि मैनाली या चित्र बहादुर केसीहरुले बैचारिक, राजनीतिक तरिकाले जनता र आन्दोलनलाई धोका दिएजस्तै अहिले विप्लवले पनि धोका दिएको उनले बताए । त्यसरी धोका भएपछि नै १२औं केन्द्रीय समिति बैठकमा गम्भीर बहस गरेर आफुहरुले बिचारको बहुमत पाएपछि पार्टी पुनर्गठन गरेको संयोजक कञ्चनको भनाइ छ ।
आइतबारदेखि काठमाडौँमा सुरु भएको क्रान्तिकारीको बिशेष राष्ट्रिय भेला ३ दिनसम्म चल्नेछ ।