काठमाडौँ । नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच एकता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत) र मञ्चका नेताहरूले पार्टी एकता भएको घोषणा गरेका हुन् ।
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै न्यूनतम् कार्यक्रम जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति र राजनीतिक कार्यनीति स्वाधीन संयुक्त सरकार आजको आवश्यकता रहेको कुरामा सहमत हुँदै पार्टी एकता गरिएको बताए ।
उनले दलाल पुँजीवादी उत्पादन सम्बन्ध र त्यसले पारेको प्रभावले आन्दोलनमा फुट उत्पन्न हुने गरेको प्रस्ट पार्दै सही प्रकारको कार्यदिशा र कार्यक्रम नहुँदा यसअघि कम्युनिस्ट मात्र नभइ, गैरकम्युनिस्टहरू पनि फुट्ने गरेको उदाहरण प्रस्तुत गरे । उनले भने, ‘यो क्रान्तिकारी एकता र ध्रुवीकरणको आरम्भ मात्र हो । आगामी दिनमा छरिएर रहेका क्रान्तिकारी शक्ति र जनतालाई पनि एक बनाउँछौँ र दलाल पुँजीवादी व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्छौं ।’
कार्यक्रममा बाेल्दै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेकपाको इतिहासमा २०१९ सालदेखि टुट, फुट, विभाजन र क्रान्तिकारी ध्रुवीकणको प्रक्रिया चलिरहेको इतिहास प्रस्तुत गरे ।
उनले विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशालाई सारसङ्ग्रहवादी बनाउँदै दलाल पुँजीवादी व्यवस्थाको चुनावमा जाने र संसदीय संशोधनवादी बन्ने आफ्नो योजनालाई पनि एकीकृत जनक्रान्ति भन्दै भ्रम छरेकाले उनीहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गरेर क्रान्तिकारी ध्रुवीकरण र एकता प्रक्रिया आरम्भ गरिएको बताए ।
विप्लवहरू दर्शनमा संशोधनवादी बनेर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मात्र क्रान्तिको बाटो होइन भन्ने स्थानमा पुगेको र प्रकारान्तरले प्रचण्डले जस्तै भौतिकवाद र आदर्शवादको फ्युजन भन्दै माक्र्सवादविरोधी बन्दै गएपछि क्रान्तिकारीहरूले उनीहरूलाई पार्टीबाट निष्कासन गरी पार्टी पुनर्गठन गर्नुपरेको पनि प्रस्ट पारे । उनले भने, ‘हिजो प्रचण्डको भैँसीपूजालगायत वैचारिक पतनका विषयमा महापतन लेख्ने विप्लवको पतनका बारेमा अर्को महापतन लेख्नु आवश्यक छ । उनको संसदीय संशोधनवादी रुझान अर्को महापतन हो ।’
जनसमाजवादी पार्टीका संयोजक गम्भीरले नेकपा (बहुमत) का संयोजक कञ्चन र आफूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्ति वाचन गरेका थिए ।
पार्टी एकता कार्यक्रममा नेकपा (क्रान्तिकारी) का गणेश थापा मिलन, आशीष चौधरी, सफल राई, साजन, सरोज ओझा अठोट, वीरबहादुर तामाङ, राममाया बर्देबा, पार्वती बर्देवा नेहालगायत ६ जना नेकपा (बहुमत) मा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई नेकपा (बहुमत) संयोजक कञ्चन र प्रवक्तम सुदर्शनलगायतका नेताहरूले स्वागत गरेका थिए ।