
काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो । कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पले हल्लाएपछि एकाबिहानै मान्छेहरु घर छोडेर भागेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भूकम्पको धक्का महसुश भएपछी मान्छेहरु घर बाहिर निस्किएका थिए ।
उता अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ ।
बुधबार बिहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् ।
भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने प्रयास गरिरहेको छ । भारी वर्षा र असिनाले उद्धार कार्य प्रभावित भएको प्राप्त विवरणमा जनाइएको छ ।
विनाशकारी भूकम्पले तालिबानका लागि ठूलो चुनौती मानिएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको उक्त भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।
‘दुःखको कुरा सरकारमाथि प्रतिबन्ध छ । तसर्थ, सरकार जनतालाई आवश्यक सहयोग गर्न आर्थिक रूपमा असमर्थ छ’, तालिबानका वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले भने ।
‘अन्तर्राष्ट्रिय राहत निकायले सहयोग गरिरहेका छन्, छिमेकी तथा क्षेत्रीय देशहरू र विश्वका विभिन्न देशले सहयोगको प्रस्ताव गरेका छन्, जसलाई हामी प्रशंसा र स्वागत गर्दछौँ । ’