
धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता ओमप्रकाश पुनसहित चार नेताले सामुहिक राजिनामा दिएका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले विहीबार एक संयुक्त विज्ञप्ति जारी गरेर सामुहिक राजिनामा दिएका हुन् ।
पार्टी प्रशिक्षको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेकै बेला नेताहरुले सामुहिक राजिनामा दिएका हुन् । धनगढीमा हुने सुदूरपश्चिमस्तरिय कार्यकर्ता प्रशिक्षणको लागि विप्लव अछाम हुँदै कैलाली पुगेका छन् ।
विज्ञप्तिमा विदलिँदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । “अहिलेको विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं । नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्दै व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महशुस गरी तयसैको प्रयासरुवरुप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौ” विज्ञप्तिमा भनिएको छ ।
पुन सो पार्टीका पूर्व पोलिट्ब्यूरो तथा सेती महाकाली ब्यूरो इन्चार्ज समेत हुन् भने पार्टी निकट किसान र सुकुम्बासीँ संगठनको केन्द्रीय अध्यक्ष समेत हुन् । त्यस्तै, खड्का पूर्व सभासद् र सेती ब्यूरो इन्चार्ज र हाल केन्द्रीय सदस्इ हुन्, धामी केन्द्रीय सदस्य र परियार दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज हुन् ।
नेता पुनले अनलाइन डबलीसँग छोटो कुरा गर्दै आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको बताए । उनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिहरुलाई एकीकृत र ध्रुविकृत गर्न पहल नगरेकै कारण आफूहरुले सामुहिक राजिनामा दिएको बताए ।
अब जनयुद्ध र जनाआन्दोनलको उपलब्धीहरुको रक्षा गर्दै सरकार र सदनको मोर्चाबाटै जनताको परिवर्तनको चाहनालाई पूरा गर्न एक मात्र विकल्प आफूहरुले देखेको कारण विप्लवसँग अलग भएको बताउँदै पुनले अब छिटै एकता र ध्रुविकरणको पहलमा लाग्ने बताए ।