
काठमाडौँ । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।
लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।
स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।
उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । लामिछानेले पार्टीका हरेक कमिटीमा ५0 प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।
लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् ।
उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’
उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजनका पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको बताए ।
उनले आफूले जति मान्छे रोएको कसैले पनि नदेखेको बताए । उनले भने–‘मैले जति मान्छे रोएको कसैले देखेको छैन होला । मेरो कार्यालयमा हरेक दिन मान्छेहरू मलाई भेट्नुअघि मेरो २ मिनेट रुने गर्थे । मेरो कार्यालयको अर्कोपट्टी बालुवाटारमा राज्यको जिम्मेवार व्यक्तिको कार्यालयमा मान्छेको भीड लाग्दैनथ्यो ।’
उनले अस्पताल जस्तो ठाउँमा पनि सोर्स फोर्स लगाउनुपर्ने कस्तो मक्किएको ठाउँमा संरचनामा छौँ भन्दै प्रश्न गरे । उनले आफू चुनावमा जाने दिन देशको नक्सा देखाएर जाने बताए ।
उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । उनले हेलिकोप्टर चढेर कोही नेता जान्छ भने विद्यार्थीका लागि पुस्तक र बिरामीका लागि हेलिकोप्टरबाट त्यसरी नै औषधी पुर्याउनुपर्ने बताए ।