
काठमाडौँ । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।
बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ । ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् ।
त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् ।
बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
केहि समय अघि मात्रै सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका थिए ।
त्यसबखत पत्रकारहरुसँग बोल्दै उनले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने पनि बताएका थिए । ‘हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिनेछ’ उनले भनेका थिए ।
संगठनको इन्ष्टिट्युसनल मेमरीलाई प्रविधियुक्त बनाउने र बिदा प्रणालीलाई डिजिटलाइज सिष्टममा लैजाने र आर्थिक पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको महानिरीक्षक अर्यालको भनाइ थियो।