
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ। आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो।
बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए।
‘उहाँले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग गर्नुभएको थियो। तर हलले मान्ने अवस्था रहने,’ पुनले भने,’धेरै नै हल्ला र अराजकता देखाउन खोजेपछि प्रहरीले शान्त पारेको हो।’
कार्कीसहित केही नेताहरू भने बैठकमा आएका थिएनन्। उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए।
बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाएको छ। बैठकमा सहभागि एक पदाधिकारीले दिएको जानकारी अनुसार यस अघि भएका विवाद, विभिन्न प्रस्तावहरु र नेतृत्वको सुझावसमेतलाई आधार मानेर २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लागेको हो।
अब यही केन्द्रीय समितिको अनुपातमा सचिवालय टुंगिने ती नेताले बताए। विभागका प्रमुखहरु आन्तरिक तयारीपछि टुंगो लगाउने क्रान्तिकारीले जनाएको छ। केन्द्रीय समितिको बैठकको परिपत्र संगै विभागका नेतृत्वको बारेमा पनि टुंगो लाग्न सक्ने एक पदाधिकारीले जानकारी दिए।
क्रान्तिकारीले आन्तरिक जिवनमा हुने कामहरुको बाँडफाँड सहज बनाउन विभिन्न २७ विभागहरु पनि गठन गरेको छ। विभागको नेतृत्व पछि तह हुनेछ।
बैठकले संगठनको महासचिवको दावी गरिरहेका नेता पवन कार्कीसहित ९ जनालाई कारबाही समेत गरेको छ। कारबाही पर्नेहरूमा बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, संजिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी रहेका छन्।कार्कीसहितका नेताहरुको निलम्बनको समयावधि भने तोकिएको छैन।
कार्कीलाई यसअघि पनि क्रान्तिकारीले कारबाही गर्ने निर्णय गरेको थियो। तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनलाई सहमतिका साथ अघि बढाउनका लागि कारबाही फिर्ता लिन निर्देशन दिएपछि फिर्ता भएको थियो।
कार्कीले समानान्तर भेला आयोजना गरेपछि उनीमाथि संगठनले कारबाही गरेको थियो। प्रचण्डको निर्देशन पछि समानान्तर भेला र कारबाहीको निर्णय दुवै रोकिएका थिए।
बैठकले माओवादी केन्द्रले जितेका हरेक पालिकामा अभियान चलाउन निर्णय पनि गरेको छ। हिजोको बैठकका क्रममा हल भित्रै नारावाजी गरेको, युवाहरुलाई उतारेर बैठक भाड्न खोजेको, हुलदंगा गरेको लगायतका कारण कार्कीलाई कारवाही गरिएको बताइएको छ।
बैठकपछि संगठनका महासचिव दीपेश पुनले भने, ‘१२ लाख सदस्यता १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित १९ कमाण्डमा अभियान टिम बनाएर ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) मुल नारामा ३ महिने अभियान संचालन गर्ने निर्णय गर्दै संगठनको तेस्रो पुर्ण विस्तारित वैठक सम्पन्न।वैठक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक आभार। संगठन निरन्तर आफ्नो गौरवपूर्ण विरासत कायम गर्दै अगाडी बढ्नेछ। अब हामी सबै फिल्ड मै भेट हुनेछौ।’