
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् ।
प्रमुख प्रतिपक्षले अर्थमन्त्रीको राजीनामासमेत माग गरेको अवस्थामा अर्थमन्त्री शर्माले उक्त विषयको खण्डन गरेका हुन् । प्रतिनिधिसभामा मंगलबार सञ्चारमाध्यममा आएका विषयलाई लिएर अर्थमन्त्रीले प्रष्टीकरण दिएका हुन् ।
‘बजेट निर्माण गर्दा राजस्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने कुरा अत्यन्त भ्रामक, कपोलकल्पित, झुटा कथा बनाइएको छ । यसको खण्डन, खारेजी गर्न चाहन्छु,’ उनले भने ।
बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले गरेको पनि मन्त्री शर्माले जानकारी गराए । मन्त्री शर्माले आफूलाई प्राप्त जिम्मेवारीअनुसार काम गरेको बताए ।
अर्थसचिव र राजस्व सचिवले मातहतका विभागीय प्रमुख र कर्मचारीसँग मिलेर, सरोकारवालाका सुझाव लिएर बजेट तर्जुमा गरेको मन्त्रीको भनाइ थियो ।
मन्त्रीका रूपमा आफूले सरकारको नीति र भिजनलाई नीतिगतरूपमा निर्देशनका रूपमा लिएर काम गरेको उनले जानकारी गराए ।