आज :

मेयर हर्क साम्पाङले यस्तो प्रस्ताव राखेपछि धरान कार्यपालिका बैठकमा लफडा, के भयो सहमति ?

  • अनलाइन डबली

धरान । मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूबीचको प्रारम्भमै भएको बेमेलले अवरूद्ध बनेको धरान उपमहानगर कार्यपालिकाको पहिलो बैठक आइतबार सहज वातावरणमा सम्पन्न भएको छ।

उपमेयर अइन्द्रविक्रम बेघाले मेयर र वडाध्यक्षहरूबीच कार्यपालिका बैठकअघि नै वार्ता गराउन भूमिका निर्वाह गरेपछि आइतबारको बैठक सहज ढंगले अघि बढेको हो।

जिम्मेवारी सम्हाल्नासाथ भएको पहिलो बैठकमै असहमति हुँदा धरानको नयाँ बजेट निर्माण प्रभावित हुने चिन्ता धरानमा व्यक्त भइरहेको थियो।

‘आजको कार्यपालिका बैठकअघि उपमेयरको सक्रियतामा मेयर–उपमेयर र दलका नेताहरूबीच छलफल भयो’, धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले भने, ‘पूर्व छलफलले बैठक सहज अवस्थामा चल्ने वातावरण बनायो। मेयर र वडाध्यक्षबीच असहमति छ कि भन्ने भ्रम छरिएको थियो। त्यस्तो केही पनि होइन। अब धरान अघि बढ्छ।’

यसअघि धरान कार्यपालिकाको बैठक दुईपटकसम्म पूरा हुन सकेन। गएको सोमबार बसेको पहिलो कार्यपालिका बैठकमा साम्पाङले विभिन्न प्रस्तावहरू पेस गर्ने क्रममा ‘नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने’ प्रस्ताव गरेका थिए।

त्यसक्रममा उनले भनेका थिए ‘धरानको प्राकृतिक स्वरूप बिगारेर गरिने विकासमा म सहमत छैन। मैले जनतालाई यही भनेर आएको छु। आउनासाथ म प्रतिबद्धता भुल्न सक्दिनँ।’

मेयर राईले यस्तो प्रस्ताव गरेपछि बहुसंख्यक वडाध्यक्षहरूले विरोध गरेका थिए। उनीहरूले यसो गर्दा धरानको आयस्रोत गुम्ने बताएका थिए। जवाफमा मेयर राईले ‘खोला कुनै हालतमा ठेक्का नलगाउने’ भनेपछि बैठकमा लामो चर्काचर्की चलेको थियो।

त्यही दिन उपमेयर अइन्द्रबिक्रम बेघाले मेयरको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने र उक्त कार्यदलले दिएको प्रतिवेदन अनुसार निर्णय गर्ने प्रस्ताव गरेपछि सोही निर्णय गरेर विवाद साम्य भएको थियो।

त्यसदिन बैठकमा अन्य एजेण्डाहरूमाथि छलफल हुन नपाएपछि बिहीबारलाई बैठक बोलाइएको थियो। तर, बैठकअघि मेयर साम्पाङका समर्थकहरूले उपमहानगर परिसरमा खोला ठेक्का लगाउन नहुने भन्दै प्रदर्शन गरेपछि कार्यपालिका बैठक बस्नै सकेन।

वडा अध्यक्षहरूले मेयर साम्पाङको निर्देशनमा प्रदर्शन भएको भन्दै असन्तोष व्यक्त गरेर बैठक बहिष्कार गरेका थिए। बैठक आइतबार पुनः बस्ने तय भएपछि उपमेयर बेघाले मेयर र दलका विभिन्न नेताहरूबीच वार्ता गराएका थिए।

सोही बैठकमा खोला ठेक्काबारे मेयरको कार्यदलमा बनेको समितिको प्रतिवेदन अनुसार थप कदम चाल्ने निर्णय भएको छ।

‘विज्ञहरूसहितको समिति बनेको छ, त्यसको निष्कर्ष आएपछि सोही अनुसार अघि बढ्ने निर्णय भएको छ’, उपमेयर बेघाले भने ‘त्यसबाहेकका सबै नीतिगत, प्रशासनिक कामहरू अघि बढाउने गरी आजको बैठक सकिएको छ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal