
काठमाडौँ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जवाफ मागेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ता घटक दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमणमाथि प्रश्न उठाएको र त्यसबारे जवाफ माग्नु गम्भीर विषय भएको बताए ।
उनले भने–‘सत्तागठबन्धन भित्रबाट प्रधानमन्त्रीको अमेरिका भ्रमणको विरोध हुनु सत्ता गठबन्धन भित्रको असमझदारी हो भनेर बुझ्ने या यो भ्रमणसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु छन् ? यो विषयमा संसद अनुत्तरित हुनुहुँदैन भन्ने लाग्छ ।’
उनले अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले अविलम्ब सदनलाई जानकारी गराउन माग गरे । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रमुख प्रतिपक्षी दल बेखबर रहेको बताए । उनले महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने, सुझाव लिने र राष्ट्रिय सहमतिको विषय बनाउने कुरा अहिलेको सरकारले छोड्दै गएको बताए ।
उनले भने–‘त्यो भ्रमण कस्तो हो, राजकीय हो कि आधिकारिक हो कि राजकीय हो कि कुनै अफिसियल वा कुनै व्यपारिक हो कि ? त्यसबारे हामीलाई जानकारी नै छैन् । छलफलका विषय के हुन्, समझदारी के हुँदैछन्, यसबारेमा प्रमुख प्रतिपक्षी दल विल्कुल बेखबर छ । म यो विषय संसदमा रेकर्ड गराउन चाहन्छु ।’
उनले बजेटको बुँदा ७७ मा उर्जा उत्पादनको दीर्घकालीन व्यवस्थाका लागि भारतसँग सहकार्यको कुरा आएको तर त्यसबारे सदनलाई बेखबर राखेर अपमान गरेको बताए । नेपालको प्राकृतिक स्रोतलाई कब्जा गर्ने गरी सो विषय उठाए ।
उनले प्रधानमन्त्रीको भ्रमणको चाजोपाँजो अमेरिकी रक्षा विभागले गरिरहेको भन्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षा मन्त्रीको हैसियतले हो कि प्रधानमन्त्रीको भन्दै प्रश्न गरे ।
उनले नेपालको संविधान विदेशी सेनालाई नेपालमा खुला ढंगले गतिविधि गर्न नदिएको बताउँदै अमेरिका सेनाको नेपाल भ्रमणले गम्भीर प्रश्नहरु उठाएको बताए ।
उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा परराष्ट्र मन्त्रालय र अमेरिकाको स्टेट डिपार्टमेन्ट अग्र भागमा नदेखिनु र अमेरिकी रक्षा विभागले गर्नु र बाहिर यस्तो यस्तो सम्झौता हुँदैछ भन्ने कुरा आउनु गम्भीर आशंका उत्पन्न भएको बताए । उनले कुनैपनि हालतमा नेपाललाई भू राजनीतिक द्धन्द्धको थलो नबनाउन माग गरे ।