आज :

प्रधानमन्त्री देउवा र मेयर साहबीच भेट, के भयो कुराकानी ?

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिए । प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो ।

यसैबीच बञ्चरेडाँडाबाट बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित तीन जनालाई प्रहरीले बिहीबार बिहान छाडेको छ। प्रधानमन्त्रीले नै संघर्ष समितिसँग वार्ता गरी समस्याको निकास खोज्ने भनेपछि प्रहरीले उनीहरूलाई छाडेको हो।

बुधबार बञ्चरेडाँडामा काठमाडौंबाट लगेको फोहोर फाल्न नदिएपछि प्रहरीले ढुंगानासहित श्रीकृष्ण बजगाईं र तपन उप्रेतीलाई नियन्त्रणमा लिएको थियो। बुधबार दिउँसो २ बजेतिर समातिएका उनीहरूलाई रातभरि ककनी चौकीमा राखेर बिहीबार बिहान १० बजेतिर छाडिएको हो।

ककनी चौकीबाट छुटेर आएका संघर्ष समितिका संयोजक ढुंगानाले आफूहरूलाई बालुवाटारमा छलफलका लागि डाकिएको बताएका छन्। छलफलको समय भने तय भएको छैन।

‘बालुवाटारमा छलफल गर्न बोलाइएको छ भनेर हामीलाई छाडिएको हो,’ उनले भने, ‘हामी अहिले बालाजुमा छौं। बालुवाटारबाट बोलाउने भनिए पनि कुन समयमा जाने टुंगो लागिसकेको छैन।’

उनीहरू स्थानीय सहमतिबेगर बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्ने सरकारी निर्णयविरूद्ध आन्दोलित छन्। मंगलबार ठूलो संख्यामा प्रहरी परिचालन र बल प्रयोग गरेर फोहोर फालिएको थियो। कयौं स्थानीयलाई घरभित्रैबाट नियन्त्रणमा लिइएको थियो। यही क्रम बुधबार पनि जारी रह्यो।

बुधबार काठमाडौंबाटै दुई सयभन्दा बढी प्रहरी टोली परिचालन भएको थियो। स्थानीयहरूले डाँडामाथि चढेर प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीले पनि अश्रुग्यास प्रहार गरे। त्यस क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन्।

स्थानीयले फोहोर बोकेको टिपर बञ्चरे डम्पिङ साइट नपुगोस् भनेर बाटोमा विभिन्न अवरोध राखेका थिए। टिपर चालकहरू आफ्नो सवारी साधनमाथि क्षति पुग्न सक्ने भएपछि फोहोर नफ्याँकी फर्किए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal