आज :

विनोद मृत्यु प्रकरणमा मानव अधिकारकाे गम्भीर हनन् भएकाे भन्दै आयोगका अध्यक्षलाई ज्ञापनपत्र

  • अनलाइन डबली

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ विनोद शाहीको मृत्यु प्रकरणमा गम्भीर मानव अधिकारको उलंघन भएको भन्दै पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार दिउँसो ‘विनोद शाहीको न्यायका लागि संघर्ष समिति’ ले पीडित परिवारको उजुरी समेत दर्ता नगरेर न्याय पाउने अधिकारबाटै सरकारले बञ्चित गर्न खोजेको भन्दै ज्ञापनपत्र बुझाएको हो । समितिका संयोजक अर्जुन विक्रम शाहीले जेठ १७ गते मध्यराति प्रहरी गाउँमा पसेर गरेको दुव्र्यहारले मानिसको बाच्न पाउने अधिकारी हनन् भएको र घटना भइसक्दा पनि राज्यका निकाय जिम्मेबार नबनेकाले मानिसको बाच्न पाउने अधिकारको गम्भीर उलंघन भएको विषयमा आयोगका ध्यानाकर्षण गराएको बताए ।

ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष तप बहादुर मगरले मानिसको बाच्न पाउने अधिकारको रक्षा राज्यले गर्नुपर्ने बताए । यो घटनाबारे आयोगले अध्ययन गरिरहेको र आवश्यक कदम चाल्ने बताएको बताइएको छ ।

यस्तो छ आयोगलाई बझाएको ज्ञापनपत्रः

अछाम, पञ्चदेवल विनायक नगरपालिका, कालिकास्थान, कुच्चीका कक्षा १० मा अध्ययनरत हाम्रो भाइ विनोद शाहीको सुनियोजित हत्याप्रति राज्य संयन्त्रको उदासीनता, लापरबाही र ढिलासुस्ती देखेर हाम्री स्तब्ध र दुःखी भएको छौँ ।

यो घटना हाम्रो भाइ मृतक विनोद शाहीको कुनै गल्ती वा व्यक्तिगत कारणले भएको होइन । स्थानीय तहको निर्वाचनका दिन कालिकास्थानस्थित हेल्थपोष्ट मतदान केन्द्रमा काङ्ग्रेस कार्यकर्ताहरुले फर्जी मत हाल्न खोज्दा एमालेको तर्फबाट बसेको एजेन्टले रोक्न खोज्दा दुई पार्टीका कार्यकर्ताबीच दोहोरो झडप भई २ घण्टासम्म मतदान कार्यसमेत स्थगित भएको थियो । झडपमा दुबैतिरका कार्यकर्ताहरुलाई चोट लागेको थियो । तर एमालेका चक्र बहादुर शाही गम्भीर घाइते भई जिल्ला अस्पतालमा उपचार भयो । र, सर्बदलीय सहमतिबाट मतदान सुचारु गरियो । गम्भीर घाइते एमाले कार्यकर्ताको उपचार काङ्ग्रेसले गर्ने र काङ्ग्रेसले गल्ती महसुस गरि माफी माग्ने सहमति भएको थियो ।

चुनाव सम्पन्न भयो, मतपरिणाम आयो । उक्त वडा र नगरमा नेपाली काँग्रेस विजयी भयो । जितिसकेपछि काङ्ग्रेसले सहमति पूरै बिर्सियो । उपचारमा सहजीकरण गर्नु र माफी माग्नुको सटो उल्टै धम्की दिन थाल्यो । जेठ १६ गते बिहान दुई पक्षबीच छलफल भयो । दिउँसो र साँझ पनि छलफल भयो । साँझको छलफलको क्रममा विवाद हुन गई झडप भयो । उक्त झडप पनि साम्य भैसकेपछि काङ्ग्रेसको तर्फबाट निर्वाचित मेयर अम्बिका चलाउने, निवर्तमान वडाअध्यक्ष सज्जन बहादुर शाही, काङ्ग्रेस महासमिति सदस्य सुरत बिष्टको षड्यन्त्रमा अछाम जिल्लाका डिएसपी रविराज थपलियाको प्रत्यक्ष निर्देशनमा बिनायक प्रहरी कार्यलायका सई, कमलबजार प्रहरी कार्यालयका इन्स्पेज्टर र काङ्ग्रेसका कार्यकर्ता सहितको टोली राति ११ बजे गाउँमै गई एमाले कार्यकर्ताका घरघरमा पसी सुतिरहेका महिला, सुत्केरी महिला, गर्भवती महिला, बालबालिका, बुढापाका जो भेटियो त्यसैमाथि कुटपिट गरे । घरमै रहेका विनोद शाही त्यहीबेलाबाट बेपत्ता भए । मेयर अम्बिका चलाउनेले प्रहरी पठाइ आफ्नो वडाका आफ्ना विपक्षीहरुलाई यसरी दमन गराउनु घोर अन्याय, अपराधपूर्ण र प्रहरी प्रशासनको चरम दुरुपयोग हो ।

यसै सन्दर्भमा १८ गते बिहानदेखि विनोद शाहीको खोजी सुरु गर्यौं । प्रहरीलाई जानकारी गरायौँ । खोजी गर्न सहयोग माग्यौ । तर प्रहरीले न खोजीमा सहयोग गर्यो, न चित्त बुझ्दो जवाफ दियो । उल्टै नगरप्रमुख अम्बिका चलाउने, निवर्तमान वडा अध्यक्ष सज्जन बहादुर शाही र काङ्ग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह हामी पिडित परिवारकै नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगे । दुई पक्ष बसेर सहमति गर्ने भनी उहाँहरु जिप्रकाबाट फिर्ता हुनुभयो । यता हाम्रो मान्छे बेपत्ता भएको जाहेरी प्रहरीले दर्ता गर्न मानेन । यसमा पनि हामीमाथि प्रहरीले पूर्वाग्रह देखायो ।

जेठ २१ गते बिहान करिब ९ बजे बेपत्ता विनोद शाहीको शव फेला पर्यो । मध्यपहाडी राजमार्गको कुच्ची–विनायक सडक खण्डको भीरबाट करिब ५०० मिटर तल बी’भत्स अवस्थामा शव भेटियो । त्यसपछि उक्त घटनाको पृष्ठभुमिमा षड्यन्त्र गर्ने र प्रहरी प्रशासनबाट दमन गर्न लगाउने र आफ्नो पार्टीका गुण्डा प्रयोग गरेर नाबालक विद्यार्थी विनोद शाहीको हत्या गर्ने सङ्गठित गिरोहविरुद्ध हामीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्यौँ । तर जिल्ला प्रहरी कार्यालयले अनेक बाहना गरेर जाहेरी दर्ता गर्न मानिरहेको छैन । आजका दिनसम्म हामी जाहेरी दर्ता गर्न जिप्रका धाइरहेका छौँ । प्रमुख जिल्ला अधिकारी र डिएसपी राजनीतिक संरक्षणमा रहेको हामी स्पष्ट भएका छौँ । उनीहरू माथिको आदेश नभई दर्ता गर्न सकिन्न भनेर जवाफ दिइरहेका छन । मृतकको शव जहाँको त्यहीँ छ । जाहेरी लिन प्रहरी मान्दैन । डिएसपी जिल्ला छोडेर हिडेका छन् । मेयर आफ्नो नगरमा नगई शक्ति केन्द्र धाएर घटनालाई ढाकछोप गर्न लागिरहेको अवस्था छ । स्थानीय बासिन्दा निरन्तर आन्दोलनमा छन् । जिम्मेवार निकाय बेखबरझैँ छ । चुनावी प्रतिशोधले निर्दोष नाबालकको बीभत्स ह’त्या भएको छ । यस्तो जघन्य अन्न्यायको पीडाले हामी तड्पिरहेका छौँ ।

मध्यरात प्रहरी गाउँ पसेर बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलामाथि गरिएको व्यवहार मानव अधिकारको गम्भीर उलंघन पनि हो । त्यसैले पीडित पक्षको जाहेरी दर्ता नगर्नु, निष्पक्ष सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको लागि स्थानीय प्रशासनले ढिलासुस्ती गरेर न्याय पाउने मानिसको नैसर्गिक अधिकारको समेत उलंघन गरिएको छ । मानव अधिकारको गम्भीर उलंघन गर्नेमाथि कारवाहीको लागि पहल गर्न र पीडित परिवारको जाहेरी दर्ता गरी मानव अधिकारको रक्षा र पीडितको न्यायको लागि पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal