आज :

एकीकृत समाजवादीका नयाँ मन्त्रीलाई शपथ खुवाउन उपेन्द्र बने तगाराे, यस्तो रहेछ कारण

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन् । प्रधानमन्त्रीको यो निर्णयसँगै नेकपा (एकीकृत समाजवादी) ले पठाएका नेताहरु मन्त्री नबन्ने भएका छन् । आइतबार बसेको सचिवालय बैठकपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी चारजना मन्त्रीलाई फिर्ता बोलाएर अन्य चार जनालाई मन्त्री बनाउन सिफारिस गरेको थियो । पार्टी अध्यक्ष माधव कुमार नेपालले आफैले नयाँ मन्त्रीको नाम लिष्ट प्रधानमन्त्रीलाई बुझाएका थिए ।

आजको लागि शपथग्रहणको हल्ला चलेपनि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर नै रोकेर पुरानै मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकमा बोलाएका थिए । पार्टीको सिफारिस नमानेको भन्दै एकीकृत समाजवादीका नेताहरु प्रधानमन्त्रीसँग रिसाएका छन् । एकीकृत समाजवादीका चारै नेता आज शपथ खाने तयारीमा थिए । तर, मन्त्रिमण्डल हेरफेर नहुने खबर सुन्न बाध्य भएका छन् ।

मन्त्रिमण्डल हेरफेर रोक्न सत्ता गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आइतबार नै विरोध जनाएका थिए । उनले प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रिमण्डल हेरफेर गर्दा अन्य दलमा पनि समस्या पैदा हुने भन्दै रोक्न आग्रह गरेका थिए । स्रोतका अनुसार यादवकै आग्रहमा आज गर्ने भनिएको शपथ रोकिएको छ ।

एकीकृत समाजवादीले मन्त्री परिवर्तन गरेसँगै जसपामा पनि नेताहरुले उपेन्द्रलाई घेराउ गर्ने तयारीमा थिए । यादव इतर समूहका नेताहरुको आइतबार साँझ बसेको बैठकले अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने र त्यसको लागि अध्यक्ष यादवलाई दवाव दिने निर्णय गरेका थिए ।

बजेट पास हुन बाँकी रहेको र चुनाव नजिक आएकोले भन्दै सत्ता गठबन्धनका अन्य पार्टीहरुले पनि मन्त्रिमण्डल हेरफेरको विपक्षमा उभिएका थिए । प्रधानमन्त्रीले बजेटको बारेमा संसदमा छलफल भइरहेको छ र जवाफ दिन बाँकी नै रहेको भन्दै नयाँ मन्त्रीलाई मन्त्रालयगत बजेटको बारेमा केही थाहा नहुने भएकाले संसदमा जवाफ दिनसमेत कठिन हुने भन्दै बताएको स्रोतको दाबी छ ।

आजै विहान एकीकृत समाजवादीबाट मन्त्री भएका चारैजना प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरुले आफूहरुलाई मन्त्रीबाट फिर्ता बोलाएका गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले अहिले मन्त्री हेरफेर हुन नसक्ने भन्दै आआफ्नो काममा लाग्न भनेका थिए । यसको पुष्टि गर्दै नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले आफूहरुलाई प्रधानमन्त्रीज्यूले आआफ्नो काममा लाग्न भनेकाले आफूहरु नियमित काम फर्किएको बताए ।

एकीकृत समाजवादीका नेताहरू मन्त्री कसलाइ बनाउने भन्ने पार्टीकाे सार्वभाैम अधिकार भएकाे बताउँदै यसमा काेही तगाराे बन्न नहुने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal