आज :

सामाजिक संजालमा आक्रोसः ए कायरहरु ! सेतुको शालीक फुटाएर राजतन्त्र फर्किने सपना नदेख

  • अनलाइन डबली

काठमाडौं । राजावादीहरुको एक समूहले विहीबार नेपालगंजको धम्बोझी चोकमा जबरजस्त स्व.पूर्वराजा विरेन्द्र शाहको शालीक राख्न खोज्यो । प्रहरीले त्यसलाई हटाउन खोज्दा दुई पक्षबीच झडप हुने अवस्था सिर्जना भयो । प्रहरीले राजावादीहरुलाई जबरजस्त नगर्न आग्रह गर्दा पनि नमानेपछि झडपको अवस्था सिर्जना भयो ।

त्यही बेला राजावादीहरुको एक समूहले गणतन्त्र प्राप्तिको लागि भएको जनआन्दोलनमा ज्यान गुमाएकी सहिद सेतु बिकको शालीकमाथि झम्टिन पुग्यो । उनीहरुले न्यूरोडस्थित शहिद बिकको शालिक ढुंगाले नफुटेपछि हम्बरको सहयोगमा शालिक फुटाए । राजावादीहरु गणतन्त्रविरुद्ध नाराबाजी पनि गरे ।

सहिद सेतु बिकको शालीक फुटाएको समाचार एकै पटक देशभर फैलियो । योसँगै उक्त समूह र सहिद बिकको शालीक फुटाउने राजावादीहरुको हर्कतको चौतर्फी विरोध भइरहेको छ । उनीहरुले आफूहरु पनि सडकमा आउनु नपरोस् भन्दै चेतावनी पनि दिएका छन् । सेतुको जिउँदो शरीर ढालेर पनि नबचेको राजतन्त्र शालीक फुटाउँदैमा नफर्किने भन्दै सामाजिक संजालमा आक्रोस व्यक्त भएका छन् ।

हामीले सामाजिक संजालमा व्यक्त भएका केही प्रतिनिधिमूलक भनाई लिएका छौं । सच्चिदानन्द जोशीले फेसबुकमा लेखेका छन् -जिउँदाे ज्यान गाेलीले उडाइदियाैँ र पनि गणतन्त्रकाे सपना पूरा भैगाे, जाबो निर्जिव शालीक ताेड्दैमा गणतन्त्र समाप्त हाेला भन्ने दुश्वप्न देख्छाैँ काँतरहरु ? उनले  सहिद सेतु बिक जिन्दावाद भन्दै त्यसको जोवाफ नेपालगञ्जले जवाफ दिनु पर्ने समेत बताएका छन् ।

एक अर्का फेसबुक प्रयोगकर्ताले लेखेका छन्- ए नालायकहरु हो तिमिहरुले आज पायको स्वतन्त्रताका निमित्त सेतु बिकहरुले बलिदान दिएका हुन । यो शालिकमा हम्मर हान्नेको टाउकोमा यसैगरी प्वाल बनाउनु पर्छ । जनताले लडेर ल्याएको परिवर्तनमा धावा बोल्ने अधिकार तिमिहरुलाई छैन । चेतना भया ।

नेकपा माओवादी केन्द्र नेता तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले यो शालीकमाथिको आक्रमण नभएर गणतन्त्रमाथिकै आक्रमण भएको बताउँदै फेसकुकमा लेखेका छन् -राजतन्त्र विरुद्धकाे संघर्षमा जीवन बलिदान गर्नु हुने वीर सहिद सेतु बिकको नेपालगन्जस्थित शालीकमाथिकाे आक्रमण संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको आक्रमण हो। हजारौं सहिदको रगतले रक्तरन्जित इतिहासमाथि हमला हाे । त्यसैले प्रतिगामी आक्रमणकारीहरुलाई राज्यविरुद्धकाे मुद्दासहित तुरुन्तै कानुनकाे कठघरामा उभाउनुपर्छ । प्रतिगामी तत्वहरुद्वारा गरिएकाे उक्त घट्नाकाे घाेर भर्त्सना गर्दै सहिद सेतु विकको सालिक तत्काल पुनः निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछु । वीर सहिद सेतु वि.क.अमर रहुन ।

त्यसैगरी पूर्णबहादुर विश्वकर्माले  लेखेकाछन् – ऐतिहासिक जनआन्दोलन २०६२/६३ को पहिलो शहिद सेतु वि.क. को शालिक तोडफोड भएकोमा तोडफोड गर्ने मण्डले अतिवादि अपराधिलाई यथाशिघ्र कार्बाही होस्।

त्यसैगरी विप्लव नेतृत्वको नेकपाका युवा नेता तथा श्रममिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल गौतम लेख्छन्- प्रतिगमनकारी एवं पुनरुत्थानवादीहरुको हर्कत घोर निन्दनीय छ, यस घटनाको घोर भर्त्सना गर्दछौं । नेपालगन्जमा सहिद सेतु वि.क. को शालीक तोडफोडको घटनाका दोषीहरुलाई कडाभन्दा कडा कार्वाही गरियोस् !

त्यसैगरी नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीका नेता विरेन्द्र शाहले सहिदको शालीक तोडफोड हुन दु:खद घटना भएको भन्दै अगाडि लेख्छन्- दोस्रो जनआन्दोलनताका म नेपालगन्जमा थिए । आन्दोलन/ भिडभाड भयो कि समावेश हुन मन लागि हाल्थ्यो । आन्दोलन किन चलिरहेको छ भन्ने कुरामा प्रष्ट नै थिए । त्यो बेला साईला बुवा नेपालगन्जमा होटल चलाएर बस्नु हुन्थ्यो । साईला बुवाले बाहिर नजान दबाब दिनु हुन्थ्यो तर म र भाई छलेर पटकपटक आन्दोलनमा पुगेर आउथ्यौं, आन्दोलनताकै अछामको सदरमुकाम मङ्गलसेनमा काईलाबुवा नयन ब. शाह आन्दोलनबाट गिरफ्तार भएको खबर रेडियो नेपालबाट सुन्दा मनमा झनै आक्रोश बढेको थियो । सेतु विक सहिद भएको दिन नजिक नजिक पुगेर फर्केका थियौं । आज उहाँ सालिक तोडियो खबरले दुखित तुल्यायो । सेतु विकहरुले रगत बगाएको कारण सडकमा उफ्रिन पाईएको कुरा कुण्डले/ मण्डले हरुले नबिर्सिन आग्रह गर्दछु । महाशयहरु, इतिहासको पुनरावृत्ति हुँदैन केवल समयको गती सँगै अगाडि बढ्ने हो न की पछाडि फर्किने ।

नेकपा माओवादी केन्द्रका युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सहिद सेतु बिकको शालिक तोडफोडको घटना इतिहासमाथि हमला भएको बताउँदै फेसबुकमा लेखेका छन् -राजतन्त्रका विरुद्धको संघर्षको क्रममा सहिद बन्नु भएका अमर सहिद सेतु विकको नेपालगन्जस्थित सालिकमा केही प्रतिगामी झुन्डद्वारा भएको तोडफोडको घटनाले गम्भीर ध्यानाकर्षण गराएको छ। सहिद सेतु बिकको शालीकमाथिको आ’क्रमण संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको आ’क्रमण हो। हजारौं सहिदको रगतले रक्तरन्जित इतिहासमाथि हमला बोल्ने प्रतिगामी आक्रमणकारीहरुलाई तत्काल गिरफ्तार गरि राज्य विरुद्धको अपराधमा मुद्दा चलाउन सरकारसङग माग गर्दछु। सहिद सेतु विकको सालिक तत्काल पुनः निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराउदछु।

त्यस्तै फेसबुमै शुसिल सिंहले लेखेका छन् -सामन्तीहरुले आ’क्रमण गर्ने भनेकै दलित महिला जनजाति र पिछडिएकाहरुमाथी हो । त्यसैले त सचेत र सङगठित जनताले सामन्तिको हेडक्वाटरमाथी बम बाडिङ गर्छन् ।

त्यसैगरी नेकपाका युवा नेता हर्कबहादुर बिकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सहिद सेतु बिकको शालिक भत्काउन निर्देशन दिएका भन्दै फेसबुकमा लेखेका छन्- घोर दक्षिणपन्थी राजेन्द्र लिङ्देनको निर्देशनमा आज महान सहिद सेतु बिकको सालिक भत्काउने निच कार्य प्रति कडा भत्सर्ना व्यक्त गर्दछु । जनताको मुक्तिको लागि बलिदान गरेका सहिदहरुको अपमान विरुद्ध धावा बोलौ । नागार्जुन खेदिएको स्याललाई फर्काउने दुस्साहस नगर्न चेतावनी दिऔं । लिङ्देन ज्यु , तपाईंको ब्यबस्था त आउने वाला छैन तर जनताको व्यवस्था बैज्ञानिक समाजबादको आधीमा तपाईं बगेर जादा तपाईंका हनुमानहरुले अस्तु खोजेर कासिको बाटो लाग्नुपर्ने चाहिँ अबश्य हुनेछ ।

त्यसैगरी नेकपा (बहुमत) का युवा नेता झलक बिकले शालिक तोडफोड गर्नेमाथि कारवाहीको माग गर्दै फेसबुकमा लेख्छन्- निरंकुशताले नै बिद्रोह जन्माएको थियो । यो त प्राकृतिक विज्ञान नियम हो । र तिम्रो प्रतिक्रियावादी अनि मण्डले सत्तालाई जनताको आन्दोलनको आधिँबेहेरीले मसानघाटमा खरानी बनाएको इतिहासले पुष्टि गरिसकेको छ । देश र जनताको अग्रगामी परिवर्तनमा उत्सर्ग दिनुहुने महान सहिद सेतु वि.क.प्रति उच्च सम्मानसहित दोषीलाई कानुनी कठघेरामालाई कारवाही होस् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal