आज :

पहिलो बैठकमै बालेन किन बने विवादित ? सिकेर बैठकमा आउन चेतावनी, माओवादीप्रति पनि पूर्वाग्रही

  • अनलाइन डबली

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह पहिलो बैठकमै विवादित भएका छन् । पद तथा गोपनियताको शपथपछि हिजो भएको कार्यपालिकाको पहिलो बैठक संचालनमै बालेनमाथि वडाअध्यक्षहरुले प्रश्न उठाए । बैठकमा पेश गरिएका एजेण्डामाथि छलफल नगरी कर्मचारीबाट निर्णय गराउन खोज्दा कार्यकालिका सदस्यहरुले त्यसमा प्रश्न उठाए । वडाअध्यक्षहरुले बालेन साहलाई बैठक संचालन र निर्णय प्रक्रियाबारे सिकेर आउन सुझव दिए ।

बालेन साहले बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेललाई निर्णय बाचन परेर पारित गर्न लगाएपछि जनप्रतिनिधिहरुले प्रतिवाद गरेका थिए । बैठकमा साहले ७ एजेण्डा पेश गरेका थिए । एजेण्डाको पहिलो नम्बरमा जनप्रतिनिधिको परिचय, दोस्रो नम्बरमा मतदातालाई धन्यवाद ज्ञापन, तेस्रो नम्बरमा फोहोर मैला व्यवस्थापन, चौथो नम्बरमा सार्वजनिक शौचालयका लागि महानगरभित्रका रेस्टुरेन्ट तथा होटल प्रयोग गर्ने सम्बन्धमा, पाचौँ नम्बरमा महानगरको गुनासो लिन कल सेन्टर स्थापना गर्ने, छैटौं नम्बरमा भौतिक पूर्वाधार एम्बुलेन्स र सातौँ नम्बरमा विविध थियो ।

लाइभ संचालन गरेको पहिलो बैठकमा पेश गरिएका एजेण्डामाथि वडाध्यक्षहरुको सामान्य रायपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले निर्णय गरित गर्न लगाएका थिए । अधिकृत पौडेलले आफूले मेयर साहको अनुमतिमा निर्णय पारित गराउन लागेको बताएपछि वडाअध्यक्षहरु मेयरविरुद्ध खनिएका थिए ।

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले कहिलेको बैठकले यो निर्णय गरेको भन्दै प्रश्न सोधेका थिए । बालेनको आदेश पाएका पौडेलले आजको बैठकले भन्ने जवाफ फर्र्काएपछि अरु वडाअध्यक्षहरु पनि खानिए । वडाअध्यक्षहरुले एजेण्डा एउटा र निर्णय अर्को भएको बताएका थिए । वडाअध्यक्षहरुले पौडेलको रवैयाप्रति प्रश्न उठाएपछि पछि हटेका थिए । रिजालले अरुसँग यस्ता कुरा चलेपनि कार्यपालिकामा नचल्ने चेतावनी दिएका थिए ।

त्यस्तै, वडा नम्बर ७ का वडाअध्यक्ष विमलकुमार होडाले साहलाई संसदीय नियम सिकेर आउन सुझाव दिए । बैठक कसरी चलाउने माइन्यूट कसरी गर्ने भनेर मेयर साहलाई सिकेर आउन भन्दै होडाले भने, “प्रक्रियागत कुरा पनि भयो । प्रस्ताव गर्ने, समर्थन गर्ने अनुमोदन गर्ने माइन्युटिङ कसरी गर्ने, त्यो नै सिक्नुपर्ने भयो । सिक्नुस् । बैठकको प्रक्रियालाई चाहिँ अध्ययन गर्नुस् । बैठक कसरी चलाउने त्यो चाहिँ तपाईँले परामर्श गरेर आउनुपर्यो ।”

मेयर साहले आफ्नै संयोजकत्वमा दलीय प्रतिनिधित्वसहितको कार्यदल गठन गर्ने निर्णय गराए । कार्यदलको सदस्यहरूमा नेपाली काँग्रेसबाट दुई जना प्रतिनिधि, एमाले उपमेयर सुनिता डंगोलसहित २ जना र एकीकृत समाजवादीबाट एकजना प्रतिनिधि रहने निर्णय गरे । उनले दलीय प्रतिनिधित्व गराउने निर्णयमा नेकपा (माओवादी केन्द्र) लगायतका अन्य दललाई पूरै बाइपास गरे । यसमा पनि बालेन अपरिपक्कता नै देखाए । बलेनले पहिलो बैठकमै माओवादीसहितका अन्य दलका सहयोग नै नचाहिने जस्तो व्यवहार गरेको भन्दै नेताहरु आक्रोसित बनेका छन् ।

वडाअध्यक्षहरुले नै दलीय प्रतिनिधित्व गर्ने भएपछि सबै राजनीतिक पार्टीको हुनुपर्ने भनेपछि मेयर बालेनले अन्तिममा पाँच जनाको कार्यदल रहने बताए । मेयर साहले पहिलो बैठकमै पूर्वाग्राही, अपरिपक्क र घमण्डका साथ पेस भएको एक वडाअध्यक्षले बताए । “बालेनजीमा जुन परिपक्कता हामीले अपेक्षा गरेका थियौँ, त्यो देखिएन, उहाँमा पूर्वाग्रह, दम्भ–घमण्ड देखियो, कर्मचारीलाई अगाडि सारेर जनप्रतिनिधिको भूमिका कम गर्न खोज्नुभयो” उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal