आज :

नवनिर्वाचित जनप्रतिनिधिलाई बर्षमान पुनले दिए यस्तो कडा चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले जनताको अहितमा काम गर्ने र पार्टीलाई बदनाम गरे जनप्रतिनिधिमाथि कारबाही गरिने चेतावनी दिएका छन् ।

पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले उनीहरुलाई राम्रो काम गर्न निर्देशन दिए ।

जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए ।

निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने उनको भनाइ थियो । ०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने पुनले बताए ।

आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिसीट्युरीमा नअल्झिन सुझाव दिए । राम्रो काम गरेर मन जितेपछि जनता आफैं माओवादी खोज्दै आउने उनको भनाइ थियो ।

राम्रो काम गरेकै कारण भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अघिल्लो निर्वाचनमा दुई सय मतान्तरले जितेकामा यसपटक १२ हजारभन्दा बढीले जित हासिल गरेको चर्चा उनले गरे ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक रेणुलाई दोहर्याउँदा आफ्नो टाउकामा अपजस आउने भन्दा पनि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नमुना कामका आधारमा रेणुलाई पुनः उम्मेदवार बनाउनैपर्ने अडान बारम्बार लिएको पुनले उल्लेख गरे । पार्टीको इज्जत र प्रतिष्ठा धुलोमा मिलाउने जनप्रतिनिधिलाई पार्टीमा राखिरहन नसकिने स्पष्टोक्ति उनको छ ।

‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने । राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ’, पुनले भने, ‘नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पनि गर्ने । किनभने मत घटाउने, पार्टीलाई बदनाम गर्ने प्रतिनिधिलाई राखेर केही काम छैन । गल्ती गरेको छ, गन्हाएको छ । दुनियाँले छि छि गरेको छ । हामीले त्यसलाई संरक्षण गर्नु हुँदैन ।’

जनप्रतिनिधिलाई प्रशिक्षित गर्न जेठ १८ र १९ गते प्रशिक्षण राखिएको जानकारी समेत उनले दिए । पुनले यसअघि जितेका ५० प्रतिशत जनप्रतिनिधिले किन निर्वाचन हारे भन्नेबारे कारण खोजिने समेत बताए ।

पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको बाहक हुनुका नाताले अहिले पनि एजेण्डाका आधारमा माओवादी मुलुकको पहिलो पार्टी भएको दाबी गरे । शान्तिपूर्ण प्रतिस्पर्धामा पार्टीको अनुहार जनप्रतिनिधिमा देखिने भएकाले रातदिन जनताका पक्षमा काम गर्न उनको सुझाव थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal