काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेताहरुलाई अपसमा गाली गर्न जति पनि समय दिने तर जनताका कुरा सुन्न ३ मिनेट सयम दिएको भन्दै सांसद गजेन्द्र बहादुर महतले आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रका सांसद महतले शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको नीति तथा कार्यक्रमाथि छलफलको लागि सांसदहरुलाई बोल्न दिँदा समयमा विभेद गरिएको बताए ।
जुम्लाबाट निर्वाचित सांसद महत ताला र चाबी लिएर संसदको रोष्ट्रममा पुगे । उनले उक्त ताला चाबी सभामुख अग्निप्रसाद सापकोटालाई बुझाए । सांसद महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामै नलिएर प्रश्न गरे, ‘गाली गर्न ३ घण्टा, कर्णालीका कुरा सुन्न ३ मिनेट ?’
संसद बैठकमा बोल्दै सांसद महतले प्रतिपक्षको हर्कत हेर्दा बोल्न नपाइने हो कि भन्ने लागेको बताउँदै भने, ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु ।’ एमालेले संसदमा धित मरुन्जेल गाली गर्ने त्यसपछि संसद अवरुद्ध गर्ने गरेको बताउँदै महतले आफूले ताला चावी ल्याइदिएको बताए ।
संसद महतले भने, ‘उहाँहरुले धित मरुञ्जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनुहोला ।’
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बोल्न क्रममा ओलीले ३ घण्टा समय लिएका थिए । संसद सचिवालयका अनुसार पूर्व प्रधानमन्त्री र राष्ट्रिय दलका संसदीय दलका नेतालाई समय निर्धारण गरिएको छैन ।