
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौ महानगर मेयरमा निर्वाचित भएर बालेन साहले सबै पार्टीलाई सन्देश दिएको बताएका छन् । प्रचण्डले बालेनको जितलाई सकारात्मक रुपमा लिँदै शुभकामना दिएका छन् ।
‘काठमाडौंमा जस्तो किसिमले वालेन आउनुभयो, त्यो विचारणीय छ । मैले त्यसलाई सकारात्मक ठान्छु । त्यो पार्टीहरूका लागि पनि सकारात्मक नै हो ।’ प्रचण्डले भने, ‘वालेनले सबै पार्टीलाई सन्देश दिनुभएको छ । त्यस अर्थमा पनि उहाँलाई बधाई भन्न चाहन्छु ।’ काठमाडौं बाहेक अधिकाश स्वतन्त्र उम्मेदवार पार्टीकै भएको प्रचण्डले बताए ।
‘स्वतन्त्रले जिते भनेर हामीले राम्रो शिक्षाका रुपमा लिने कुरा ठीक छ । तर यो उत्पात भयो भनेको जस्तो मलाई लाग्दैन । केही अपवाद छोडेर ती पार्टीकै हुन्, बागी भने पनि स्वतन्त्र भएपनि ।’ प्रचण्डले भने, ‘तर पार्टीकै तल्लो तहले संस्थागत रुपमै स्वतन्त्र उठाएर जिताउन लागि परेको छ । जनकपुर, कालिकोट स्वतन्त्रले जित्नु भएको छ । मैले त्यहाँ पार्टीलाई सोध्दा पार्टीले सल्लाह गरेरै स्वतन्त्र उठ्न भनेको छ ।’
यस्तै धनगढीको प्रमुखमा स्वतन्त्रबाटै उम्मेदवार भएपनि पार्टीकै भोटले जितेको प्रचण्डले बताए । पार्टीकै मतले धनगढीको स्वतन्त्रले जितेकाले अचम्म मान्न नहुने बताए।
यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्।
उनले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै आफूहरू बदलिनुपर्ने उल्लेख गरेका छन्। ‘बालेनलाई बधाई दिउँ, बदलौं आफूलाई। बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ आज ट्वीट गर्दै शर्माले भने।
उनले जनताको काममा जनप्रतिनिधिलाई सघाउनुपर्ने पनि बताए। ‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो,’ शर्माले भने, ‘मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौं।’
बालेनको जितमा जनताले आशा देखेको पनि शर्माको भनाइ छ। ‘बालेनको विजय हाम्रो पराजय मात्र होइन उनीप्रति आशा र विश्वासको जित पनि हो,’ उनले भने, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आँखो पर।’
उनले काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रूपले आत्मसाथ गरिनुपर्ने पनि बताएका छन्। मुख्य दलको शैली र प्रस्तुतीप्रति मतदाता असन्तुष्ट रहेको देखिएको पनि शर्मा बताउँछन्।
‘बदलिएको समयअनुसार आफूलाई बदल्नु हामी राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो। काठमाडौंमा बालेनको विजयले हामीलाई यसका लागि जबरजस्त दबाब सकरात्मक ढंगले दिएको छ,’ उनले भने।