आज :

काठमाडौंमा चुनाव लडेका क-कसको भयो जमानत जफत ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन शाहसहित तीन जनाबाहेक सबैको जमानत जफत भएको छ। उपमेयरतर्फ पनि तीन जना मात्र जमानत जोगाउन सफल भए।

नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन्। यो मेयर पदमा खसेको कुल सदर मतको ३८.६३ प्रतिशत हो।

निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो। कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।

दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन्। यो सदर मतको २३.९८ प्रतिशत हो। त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाएका छन्। यो सदर मतको २३.८४ प्रतिशत हो।

निर्वाचन आयोगका अनुसार जमानत जोगाउन सफल मेयर उम्मेदवारहरू यी तीन जना मात्र हुन्। यसबाहेक आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत पाएका छन्। यो सदर मतको ८.६१ प्रतिशत हो।

राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७ सय ७० (३.६१ प्रतिशत) मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६ सय ४७ (०.४० प्रतिशत) मत पाएकी छन्।

उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत ल्याएर विजयी भएकी छन्। यो उपमेयरमा खसेको कुल सदर मतको ५३.२० प्रतिशत हो।

उपमेयर पदमा खसेका मतमध्ये १ लाख २८ हजार ९ सय ७५ सदर भएको आयोगले जनाएको छ। उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए। यो सदर मतको १८.४६ प्रतिशत हो।

उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ पनि जमानत जोगाउन सफल भएकी छन्। उनले १३ हजार ६ सय ९५ मत पाइन्। यो सदर मतको १०.६२ प्रतिशत हो। उपमेयरमा राप्रपासहित २७ जना उम्मेदवारको जमानत जफत भएको छ।

राप्रपाकी विनिता मगैयाले १२ हजार १ सय ४१ (९.४१ प्रतिशत) मत पाएकी छन् भने लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५ सय ५५ (५.०८ प्रतिशत) मत पाएका छन्।

काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए। तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए।

मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको थियो भने १४ जनाले १० भन्दा कम मत पाए। सयभन्दा कम मत पाउने ४५ जना छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal