काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । मत गणनाको अन्तिम नतिजा अबको केही घण्टामा आउने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । अहिले वडा नम्बर १४ र १५ को मत गन्ने काम भइरहेको छ ।
केही समयअघिसम्म गरी ३२ वडामध्ये ३० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । मत गणना भइरहेका दुई वडाको पनि धेरै मत गनिसकिएको छ । ढिलोमा विहीबार बुलेकासम्म सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना नसकिँदै मेयरमा बालेन्द्र साहल र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ । विजयीको औपचारिक घोषणा हुन मात्रै बाँकी छ । साह र डंगोलले भारी मत अन्तरका साथ विजयी भएका छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएपनि नगरसभा र नगरकार्यपालिकामा भने नेपाली कांग्रेसको बहुमत हुने सुनिश्चित भएको छ । काठमाडौं महानगरपालिकामा कुल १६५ सदस्यीय नगरसभा हुन्छ । जसमध्ये १६२ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । जसमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरू पर्छन् । यसबाहेक ३ जना कार्यपालिका निर्वाचनबाट निर्वाचित हुने सदस्य हुन्छन् । कार्यपालिका सदस्यमा ८ जनाका लागि निर्वाचन हुन्छ । जसमा पाँचजना प्रत्यक्ष निर्वाचित सदस्यबाटै निर्वाचित हुन्छन् भने, थप तीनजना बाहिरबाट दलित र अल्पसंख्यकबाट निर्वाचित हुने व्यवस्था छ ।
यस्तै काठमाडौं महानगरमा ४२ सदस्यीय नगर कार्यपालिका हुन्छ । जसमा मेयर अध्यक्ष रहनेगरी उपमेयर र ३२ वडाध्यक्ष पदेन सदस्य हुन्छन् । यस्तै ८ जना कार्यपालिका सदस्य निर्वाचनबाट निर्वाचित हुन्छन् । कार्यपालिका सदस्य निर्वाचनका मतदाता प्रत्यक्ष निर्वाचनबाट निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यहरू हुन्छन् ।
हालसम्म कांग्रेसले १८ वटा वडाध्यक्ष जितेको छ । जसमा वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० नम्बर वडा रहेका छन् । यस्तै वडा सदस्यमा ७२ जना जितिसकेको छ । जसमा महिला सदस्य १८ जना, दलित महिला सदस्य १५ जना र ३९ जना खुला सदस्य छन् ।
यसरी नगरसभामा ९० सदस्य निर्वाचित भइसकेका छन् । जुन १६२ जनामा बहुमतभन्दा बढी छ । यसैले कार्यपालिका सदस्यहरूको निर्वाचनमा पनि कांग्रेसले चाहे एकलौटी ८ जना आफ्ना उम्मेदवार जिताउनसक्ने मत तयार भएको छ ।
यसैले ४२ सदस्यीय कार्यपालिकामा पनि १८ वडाध्यक्ष र ८ कार्यपालिका निर्वाचनबाट निर्वाचित सदस्य गरी २६ जना कांग्रेसका सदस्य सुनिश्चित देखिएको छ ।
उता एमालेबाट हालसम्म १२ जना वडाध्यक्ष जितेका छन् । जसमा वडा नम्बर १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१ र ३२ का वडाध्यक्ष रहेका छन् । यस्तै एमालेले ४६ जना सदस्य जितेको छ । जसमा १२ जना महिला सदस्य, १३ जना दलित महिला सदस्य र ४६ जना खुला सदस्य छन् ।
यसरी एक उपमेयरको जित सुनिश्चित हुँदा नगरसभामा एमालेको ५९ सदस्य हालसम्म कायम भएको छ । भने कार्यपालिकामा १२ वडाध्यक्ष र एक उपमेयरसहित १३ जना सुनिश्चित भएको छ । यस्तै वडा नम्बर १५ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीले जितेको छ भने १४ नम्बर वडाको मतगणना चलिरहेको छ