भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी नि:शुल्क दिने घोषणा गरेकी छन्।
खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबीसमेत गरेकी छन्। साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन्।
आगामी आर्थिक वर्षबाट यो बीमा कार्यक्रम लागू हुनेछ। छोरीहरूका लागि एक लाख रूपैयाँको जीवन बीमा गर्ने निर्णय महानगरको छ।
महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रूपैयाँ पाइनेछ। यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागु हुनेछ। मेयर रेनु दाहालले सोचेको भन्दा पनि राम्रो नतिजाका साथ विजय हाँसिल भएको प्रतिक्रिया दिएकी छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले आफ्नो अनुमान ३ देखि अधिकतम ७ हजारसम्मको मतान्तरसहित विजयी हुने भएपनि त्यो भन्दा बढी मतान्तरसहित विजयी हुनु भनेको जनताको माया र विश्वासको कारण भएको बताइन् ।
उनले आफूलाई विजयी गराउने भरतपुरका सबै मतदाताप्रति धन्यवाद प्रकट गरिन् ।‘दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिँदा आम मतदाताको साथ। सहयोग, माया र हौसला पाएँ । यो परिणामले पनि देखायो’, उनले भनिन्, ‘हाम्रो पहिलो कार्यकालको कामको मूल्यांकन गर्दै सोचेको भन्दा राम्रो नतिजा प्राप्त गरेका छौँ ।’
उनले विगतका अधुरा कामहरु र जनताले गरेका अपेक्षा पुरा गर्नका लागि लागिपर्ने घोषणा गरेकी छिन । जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाउँदै दाहालले भरतपुरलाई नमुना सहर बनाउने सङ्कल्पलाई पुरा गरिछाड्ने पनि घोषणा गरिन् । उनको यस्तो घोषणाले भरतपुरबासीलाई खुसि तुल्याएको छ ।
उनले आउने दिनमा कहीँकतै आफ्नो ठाउँबाट सक्रियता र योगदानमा कमी हुन नदिने भन्दै उनले बरु अनुभव प्राप्त भएकाले यहाँका आवश्यकता र प्राथमिकता पहिचान गरेर अघि बढिने बताइन् ।
मेयरका रुपमा आफ्नो अन्तिम कार्यकाल हुने भन्दै उनले यसलाई एक सेकेन्ड पनि खेर नफालीकन जनतालाई निराश हुन नदिने सो क्रममा बताइन् ।