
चितवन । भरतपुर महनगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो पार्दै गएकी छन्।
आइतबार साँझसम्म एक लाख ५४४ मत गणना भइसकेको छ। सो मतगणना हुँदा उनले आफ्ना प्रतिस्पर्धीहरूसँग ८८८२ मतान्तर बनाएकी छन्। उनले ३९ हजार ८०८ मत पाएकी छन्। यता नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ९२६ मत पाएका छन्।
बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार ९०५ मत पाएका छन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४२ हजार ७४ मत पाए। राप्रपाकी हिमला गुरूङले २४४८४ मत पाइन्।
अहिले वडा नम्बर २१ र २२ को मतगणना भइरहेको छ। वडा नम्बर २१ को ३१७४ मतगणना हुँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १६५५ र एमालेका उम्मेदवारले १०४३ मत पाएका छन्।
वडा नम्बर २२को २९३७ मत गणना हुँदा एकीकृत समाजवादीका उम्मेदवारले १२९१ र एमालेका उम्मेदवारले ११३० मत पाएका छन्। यता काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार १ लाख १६ हजार ८ सय ८५ गणनामा शाहले ४१ हजार २ सय ७९ मत पाएका हुन्। उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन्। सिंहले २३ हजार ८५५ मत पाएकी छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन्। स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन्। ३२ वडा रहेको काठमाडौं महानगरमा १५६ वडाको अन्तिम परिणाम आइसकेको छ।
बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ४२४ छ भने स्थापितसँग १८२५५ छ। सिर्जना र स्थापितको मतान्तर ८३१ मत छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।
त्यस्तै अहिले वडा नम्बर ९, १०, ११, १२, १३, २२, २३, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। यीमध्ये वडा नम्बर ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।
वडा नम्बर १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। यहाँ १६८३ मत गन्दा सिर्जनाले ६८०, स्थापितले ४९७ र बालेनले ३४७ मत पाएका छन्। त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ।
२४ नम्बर वडाको गणना सकिएको छ। जसमा स्थापितले ९१० मत पाउँदा सिर्जनाले ७६० र बालेनले ६०२ मत पाएका छन्। २३ नम्बर वडाको १७८३ मत गन्दा स्थापितले ४२१, सिर्जनाले ३४७ र बालेनले २७९ मत पाएका छन्। वडा नम्बर २५ मा गणना भएको ४०५९ मतमा स्थापितले ९३०, सिर्जनाले ७३० र बालेनले ६८५ मत पाएका छन्।