काठमाडौँ । काठमाडौं महानगरपालिकाको जारी मत गणनाको पछिल्लो परिणाम आधिकारिक रुपमा सार्वजनिक गरिएको छ । शनिबार राति करिब १० बजे सार्वजनिक गरिएको विवरणमा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् । सिंहले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।
पछिल्लो मत परिणामअनुसार सिर्जनाले १९ हजार ३१५ मत प्राप्त गरेर स्थापिनलाई पछि पारेकी छन् । स्थापितले १८ हजार ९७९ मत मात्रै पाएका छन् । सुरुदेखि नै अग्रता लिएका बालेन साहले भने ३४ हजार ९३५ मत पाएर मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
त्यसैगरी उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २२ हजार बढीको मतान्तर बनाएकी हुन् । सुनिताले ३४ हजार ३० मत पाएकी छन् भने गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाएका छन् । सिर्जनाको अग्रता देखेर गठबन्धनभन्दा दोब्बर मत ल्याउने घोषणा गरेका स्थापित चकित परेका छन् ।
यसैबीच जनकपुर उपमहानगरपालिकाको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । सुरुदेखि नै अग्रता लिएका स्वतन्त्र मनोज साहले ८ हजार ४३६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका शिवशंकर साह हिराले ५ हजार ८९५ मत पाएका छन् । लोसपा मनोज चौधरीले ३ हजार ४० मत पाउँदा स्वतन्त्र बलराम महतोले २ हजार ५७५ मत पाएका छन् । गठबन्धनको तर्फबाट जसपाका लालकिशोर साहले १ हजार ३७३ मत पाएका छन् ।
त्यसैगरी उपमेयरमा गठबन्धका तर्फबाट नेपाली काङ्ग्रेसका किशोरी साहले अग्रता लिएकी छन् । उनले ९ हजार ४४५ मत पाएकी छन् भने नेकपा एमालेकी रुणा झाले ६ हजार ९०४ मत पाएकी छन् । त्यस्तै, लोसपा रिताकुमारी मिश्रले ३ हजार ५९ मत पाएकी छन् भने स्वतन्त्र निर्मल चौधरीले २ हजार ४९६ मत पाएका छन् ।