
काठमाडौं । विराटनगर महानगरपालिकाको मत गणनाको अन्तमि परिणाम सार्वजनिक भएको छ । नगर प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।
कोइरालाले नेकपा एमालेका सागर कुमार थापालाई पराजित गर्दै जित हात पारेका हुन् । त्यस्तै उपमेयरमा भने एमालेकी शिल्पा कार्की विजयी भएकी छन् ।
यसैबीच हटौडा उपमहानगरपालिकाको मतगणना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडाको मेयरमा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र नेपाली काँग्रेसका राजेश बानियाँ उपमेयरमा विजयी भएका छन् ।
पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले २०३९५ मत पाएका छन् भने एकीकृत समाजवादीकी मीना लामा २२४६८ मत पाएर अग्रता बनाइरहेकी छन् । जसमा मतान्तर २०७३ रहेको छ । तर अब १९२३ मात्रै गन्न बाँकी रहेकाले मीना र बानियाँ गणना सकिनुअघि नै विजयी भएका हुन् । निर्वाचन आयोगले मतगणना सकिएपछि औपचारिक रुपमा घोषणा गर्नेछ । उसो त एमालेका मेयर र उपमेयरका उम्मेदवारले शुक्रबार दिउँसै हार स्वीकार्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिइसकेका छन् ।
यसैबीच काभ्रेको महाभारत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छा लाल जिम्बा ४ हजार ८ सय ९१ मत ल्याई विजयी भए ।
उनले नेकपा एमालेका पूर्णबहादुर वाईवालाई १ हजार ६९६ बढी मतले पारजित गरे । पूर्ण बहादुरले ३ हजार १ सय ९५ मत ल्याए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान निर्वाचित भएका छन् ।
मोक्तानले उपाध्यक्षमा एमालेका शान्ति तितुङ राना मगरलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरे । रानामगरले १ हजार ५३० मात्र मत ल्याएकी थिइन ।
योसँगै १२ वटा पालिकाको मत परिणाम आएको छ । काभ्रेमा अब पाँचखाल नगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ ।