
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए ।
पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन्। चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए ।
चुनावी परिणामपछि माओवादीका नगर अध्यक्ष तीर्थराज बस्नेतले आफूहरू मिलेर लामो समयदेखिको एमालेको एकाधिकार खोसेको प्रतिक्रिया दिए । उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनिन्।
उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाए । ५८,१७६ मतदाता रहेको दमकमा ३९७३६ मत खसेको थियो । ३९८९५ मतगणना भएको थियो ।
उता पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छिपहरमाईं गाउँपालिका अध्यक्ष उम्मेदवार मनोजकुमार निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टीका इन्द्रासन कलवारलाई पराजित गर्दै एमालेका उम्मेदवार मनोजकुमार निर्वाचित भएका हुन् । मनोज कुमारले ४ हजार १ सय ८८ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी कलवारले ३ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् । मनोज २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी उम्मेदवार निर्वाचित भएकी छन् । कांग्रेसकी उपाध्यक्ष उम्मेदवार लिलावतीदेवी कानु निर्वाचित भएकी हुन् । उनले ३ हजार ५ सय ९० मत प्राप्त गरेकी थिइन् ।
उपाध्यक्षमा एमालेकी उम्मेदवार मोदिना खातुनले ३ हजार ५ सय ९० मत प्राप्त गरेकी थिइन् । यस्तै दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
उपमेयरमा भने एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट भिमेश्वर नगरपालिकाको मेयर उम्मेदवार बनेका कांग्रेसका ईश्वरनाथ मानन्धर निर्वाचित भएका हुन् ।
माधनन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार हरिवंश चौलागाईंलाई १ हजार ४ सय २२ को मतान्तरले पराजित गरेका हुन् । मानन्धरको ७ हजार ३ सय १ मत आएको थियो ।
त्यस्तै, उपमेयरमा भने एमालेले गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेको छ । एमालेकी उपमेयर उम्मेदवार कमला बस्नेत ७ हजार २ सय ६४ मतसहित विजयी भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत ल्याएकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित भएका थिए ।
उनले कांग्रेसका ईश्वरनाथ मानन्धरलाई पराजित गरेका थिए । त्यतिबेला मेयर निर्वाचित केसीले ६ हजार ८ य ५३ मत प्राप्त गरेका थिए भने पराजित मानन्धरले ५ हजार ८ सय १५ मत प्राप्त गरेका थिए ।
मानन्धर यसपटक भने निर्वाचित हुन सफल भएका हुन् । २०७४ मा उपमेयर पनि एमालेले नै जितेको थियो । उपमेयरमा एमालेकी कमला बस्नेतले ७ हजार १७ मत र उनकी निकटतम प्रतिद्वन्द्वी कमला कार्कीले २ हजार ८ सय ७९ मत प्राप्त गरेकी थिइन् ।