अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ लयटीमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेको हेम बहादुर शाहीले प्रतिस्पर्धीभन्दा धेरै अन्तरमा विजयी भएका हुन् । माओवादी केन्द्र यस नगरपालिकामा अघिल्लो निर्वाचन भन्दा आफूलाई निकै सुदृढ गरेपनि झिनो मतले पराजय भोग्नु परेको छ ।
मेयरका उम्मेदवार रामबहादुर बिक नेपाली काँग्रेसकी उम्बिका चलाउनेसँग झिनो मतले पराजित भएका छन् । त्यस्तै वडा नम्बर ८ मा दुई मतले माओवादी उम्मेदवार पराजित भए । अघिल्लो निर्वाचनमा माओवादी र काँग्रेसको मत बराबरी भएपछि गोलाप्रथाबाट काँग्रेसले जित हात पारेको थियो । त्यस्तै, पुल्लेताेलामा पनि भीम बहादुर रावल झिनो मतले पराजत हुनु परेको छ भने वडा नम्बर १ मा माओवादी उम्मेदवार धर्म तिमिल्सिना पनि झिनो मतले पराजित भएका छन् ।
यस नगरपालिकामा तीन वडा कम्युनिस्टले जितेका छन् भने बाँकी नेपाली काँग्रेसले विजय हात पारेको छ । जिल्लामै नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा एमालेले दुई र माओवादीले एक पालिका जितेको छ भने बाँकी काँग्रेसले । माओवादीले आधार क्षेत्रको रुपमा रहेको रामारोशन गाउँपालिका भने गुमाएको छ ।
यसैबीच कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)ले निरन्तर अग्रता लिइरहेका छन् ।
४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो स्थानमा रहेका ओडको भन्दा दोब्बरले बढी हो । कांग्रेसका ओडले जम्मा ९ हजार ५५७ मतमात्रै पाएका छन् ।
मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।