
काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत ६ वटै महानगरको मतगणना जारी छ । काठमाडौँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । बालेनले दोब्बर मतले अग्रता लिइरहेका छन् ।
त्यसैगरी भरतपुर महानगरपमा पनि रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । रेणुले दुई हजार भन्दा बढीले मतान्तर बनाएकी छन् । दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् । त्यस्तै, काँग्रेसबाट बागी उम्मेदवारी दिएका जग्गनाथ पौडेलले करिब ५ हजार मत लिएका छन् ।
रेणु र सुवेदीबीच मुख्य प्रतिस्पर्धा भएको छ । ७ नम्बर वडाको गणना चलिरहँदा एमाले दबावमा पर्न थालेको छ । स्वतन्त्र उम्मेदवार पौडेलले मत काटेपनि एमालेबाट रेणुले मत पाएकी छन् । पौडेलले एमालेले अपेक्षा गरेअनुसार पनि मत काट्न सकेका छैनन् । वडा नं. ४ को गणनासम्म पौडेलले गठबन्धनको मत काटेकै कारण रेनु र विजयको मतान्तर उति ठूलो थिएन । अग्रता पनि कम थियो ।
वडा नम्बर १ को मतगणना सकेर २ को सुरु गर्दा रेणुले कायम गरेको १२१ मतको अग्रता वडा नं. २ बाट ३ मा जाँदा निकै कम भएको थियो भने वडा नं. ३ बाट ४ मा जाँदा विजयले रेणुलाई उछिन्दै ५० मतको अग्रता लिएका थिए । एमालेबाट वडा नम्बर दुईमा रेणुलाई मत गएपछि मतान्तर फराकिलो बन्दै गएको हो ।
त्यसैगरी वडा नम्बर पाँचबाट एमालेका मत बाक्लै देखिएको बताइएको छ । वडा नं. ४ मा बागी उम्मेदवार पौडेलले कांग्रेसको मत आफूतिर जति तानेका थिए भने ५, ६ र ७ मा त्यति तान्न सकेनन् ।
यसैबीच बुधबार साँझसम्म ४८५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यो साँझ ८ बजेसम्मको परिणामअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।
यो नतिजाले पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । उसले ६८ मा जीत हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एमाले) ले ३८ स्थानमा जीत हासिल गरी ३९ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा १४ स्थानमा जीत र नौ स्थानमा अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जीत र आठ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले सात स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ५७ स्थानमा जीत हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ४५ स्थानमा जीत हासिल गरी ६० स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा २१ स्थानमा जीत र ११ स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले सो पदमा पाँच स्थानमा जीत र चारमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १५० स्थानमा जीत हासिल गरी २९ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९९ स्थानमा जीत हासिल गरी २५ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ८१ स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ । अन्यले १५ स्थानमा विजय हासिल गरी १२ मा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १४५ स्थानमा जीत हासिल गरी ३४ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९७ स्थानमा जीत हासिल गरी २७ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्षमा ८१ स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले १० स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले १३ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्षमा कांग्रेसले दुई हजार ८० मा जीत हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ६०९ मा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्षमा ८७९ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जीत र १२ मा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४३७ स्थानमा विजय हासिल गरी १२ स्थानमा अग्रता कायम गरेका छन् ।
महिला सदस्यमा कांग्रेसले दुई हजार ४६ मा जीत हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ७४५ स्थानमा जीत हासिल गरी ८३ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले महिला सदस्यमा ८१८ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १७० स्थानमा जीत र १२ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३९२ स्थानमा विजय हासिल गरी नौ स्थानमा अग्रता कायम गरेका छन् ।
दलित महिला सदस्यमा कांग्रेसले एक हजार ९८२ मा जीत हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ७२७ स्थानमा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्यमा ८२५ स्थानमा जीत र १४ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३७९ स्थानमा विजय हासिल गरी सात स्थानमा अग्रता कायम गरेका छन् ।
यस्तै वडा सदस्यमा कांग्रेसले चार हजार १११ मा जीत हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले तीन हजार ५४५ स्थानमा जीत हासिल गरी ८६ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडा सदस्यमा एक हजार ५१८ स्थानमा जीत र १५ मा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ३३९ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ८०४ स्थानमा विजय हासिल गरी पाँच स्थानमा अग्रता कायम गरेका छन् । विसं २०७४ मा पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनका आधारमा यही जेठ ५ गते स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ ।