आज :

भरतपुरमा रेनु दाहालसँग विजय सुवेदीले बनाए ठुलो मतको अग्रता, यस्तो छ ताजा अपडेट

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् ।

प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ४८३ मत छ ।

कांग्रेसको दरिलो किल्ला मानिने वडा नम्बर ३ बाट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले राम्रो मत पाएका थिए । तर, यसपटक विजय सुवेदीले निकै कम मतको अग्रता लिए । अघिल्लोपटक एमालेका मेयर उम्मेदवारलाई आएको मत भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका जगन्नाथ पौडेललाई गएको छ ।

२०७४ मा वडा नं. १, २ र ३ गरेर देवी ज्ञवालीले झण्डै १३०० मतको अग्रता रेनु माथि कायम गरेका थिए । तर, वडा नं. ३ को यसपटकको गणना सकिदा उनीहरु बीचको अन्तर खासै छैन । मतान्तर कम हुनु एमालेका लागि टाउको दुःखाइको विषय बनेको एमालेका नेताहरु बताउँछन् ।

वडा नं. २ र ३ बाट जुन अनुपातको अग्रताको अपेक्षा एमालेले गरेको थियो सो अनुरुप भएन । एमालेका वडा अध्यक्षहरुले पाएको मत मेयरका उम्मेदवार विजय सुवेदीलाई गएको पाइएको छैन ।

माओवादीका लागि जगन्नाथको प्रभाव बढी देखिदै जानु अर्को चिन्ताको विषय छ । २०७४ मा एमालेका देवी ज्ञवालीले लिएको अग्रताभन्दा बढी मत जगन्नाथले पाएका छन् । जगन्नाथको प्रभाव अब अझै बढेर जाने अनुमान छ ।

भरतपुरमा उक्लिदै प्रतिस्पर्धा
नारायणगढको बजार क्षेत्रमा अहिलेसम्म चलेको प्रतिस्पर्धा अब भरतपुरतिर उक्लिनेछ । वडा नं. ४ कांग्रेसको प्रभाव क्षेत्र हो । अघिल्लो चुनावमा वडाध्यक्षमा एमालेका हरि आचार्यले झिनो मतान्तरले वडाध्यक्ष जितेका थिए । तर, यसपटक वडा नं. ४ कांग्रेसको भागमा परेको छ । वडामा कांग्रेस आफैं पनि बलियो छ ।

वडा नं. ४ कांग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलकै समर्थक मिना खरेलको वडा हो । उनलाई कांग्रेसले जगन्नाथको समर्थक बसेको भनेर कारवाही गरेको छ । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील मिनाको प्रभाव वडा नं. ४ मा बढी छ । त्यसैले सत्ता गठबन्धनका लागि वडा नं. ४ पनि त्यति सन्तोषजनक नतिजा नआउने अनुमान छ ।

जगन्नाथले जति बढी कांग्रेसको मत काट्छन् उति नै एमालेका लागि सहज हुनेछ । त्यसकारण, एमाले र सत्ता गठबन्धनको जित कांग्रेसबाट काटिने मत र कांग्रेसबाट पाउने मतमा निर्भर रहनेछ ।

भरतपुर महानगरपालिकाका वडा नं. ५, ६, ७ र ८ कांग्रेसको बाहुल्य भएका वडाहरु हुन् । अघिल्लो चुनावमा एमालेले वडा नं. ५ र ७ मा थोरै मतले जितेको थियो । वडा नंं ७ सत्ता गठबन्धनका तर्फबाट समाजवादीले पाएको छ ।

वडा नं. ६ मा अघिल्लो पटक रेनु दाहालले अधिक मत पाएर देवीसँगको मतान्तर घटाएकी थिइन् । यसपटक पनि बढी मत पाउने आशा उनको छ । तर, यहाँबाट यसपटक धेरै भोट जगन्नाथ पौडेललाई पर्ने अनुमान छ । किनकि वडा नं. ७ कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको वडा हो ।

वडा नं. १४, १५ र १७ मा समेत जगन्नाथको प्रभाव छ । वडा नं. १८, १९, २०, २१ र २६ पनि कांग्रेसको प्रभाव भएका वडा हुन् । वडा नं. ९, १०, ११ र १२ एमालेको प्रभाव क्षेत्र मानिन्छन् । वडा नं. १३ माओवादी केन्द्रको प्रभाव भएको वडा हो । २०७४ को चुनावमा वडा नम्बर १३ मा माओवादी केन्द्रले क्लिन स्वीप गरेको थियो ।

वडा नं. २२, २३, २४ र २५ मा सत्ता गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा छ । वडा नं. २३, २४, २५, २७ र २८ मा राप्रपाको समेत प्रभाव छ । राप्रपाले एमालेलाई मत दिएको खण्डमा रेनुका लागि असहज हुन सक्ने विश्लेषण गरिएको छ ।

कांग्रेसको गढमा एमाले वडाध्यक्ष विजयी
अघिल्लो पटकको निर्वाचनमा कांग्रेसले जितेको वडा नं. ३ यसपटक एमालेले जितेको छ । एमालेका विकास थापाले ६१७ मतले पराजित गर्दै जित निकाले । थापाले १६६६ मत पाउँदा पाँच दलिय गठबन्धनका वडाध्यक्ष उम्मेदवार भरत लामिछानेले १०४९ मत पाए ।

यो जितमा कांग्रेसकै हात छ । उपमेयरलाई मत दिएका कांग्रेसका मतदाताले वडाध्यक्षमा एमालेका थापालाई मत दिएर जिताइदिए । कांग्रेस भित्र वडाध्यक्ष उम्मेदवार बनाउने विषयमा विवाद थियो ।

वडा कमिटीले वडा सभापति तारामित्र पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरे पनि क्षेत्रीय सभापति रहेका भरत लामिछाने आफैं वडाध्यक्ष बन्न तम्सिए । दुबैले उम्मेदवारी दर्ता गराए । कांग्रेस केन्द्रले सुरुमा कमलको फूल चुनाव चिह्न पाएका पण्डिलाई आधिकारिक उम्मेदवार बनायो तर पछि फेरि लामिछानेलाई नै आधिकारिक उम्मेदवार भएको पत्र थमायो ।

निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठको उपस्थिपतिमा पण्डितले लामिछानेलाई समर्थन गरेको बताए । तर, नतिजा फरक आयो । भरतपुर महानगरपालिका वडा नं. १ र २ मा कांग्रेसका उम्मेदवारहरु विजयी भए तर वडामा भने एमालेले बहुमत वडा सदस्य जितेको छ ।

वडा नं. १ मा कांग्रेसका केशव महर्जन १३९७ मतसहित विजयी हुँदा एमालेका शुक्र श्रेष्ठले १३१३ मत पाए । बाँकी ३ वडा सदस्य भने एमालेले जित्यो । अघिल्लो चुनावमा कांग्रेसले एक्लै जितेको यो वडामा यसपटक पाँच दलीय गठबन्धनलाई जित्न निकै गाह्रो देखियो ।

यस्तै, वडा नं. २ मा अघिल्लोपटक एमालेले जितेको थियो तर यसपटक गठबन्धनका उम्मेदवार मनोज रानाभाटले जिते । रानाभाटले वडाध्यक्षमा २०९९ मत पाउँदा एमालेका कृष्ण केसीले २०६५ मत पाए । बाँकी ४ जना वडा सदस्य भने एमालेले जितेको छ ।

अघिल्लो चुनावमा एमालेका पूर्णबहादुर श्रेष्ठले १९२६ मत ल्याउँदा कांग्रेसले १३५४ र माओवादीले ७७० मत पाएका थिए । उनीहरुको मत जोड्दा गठबन्धनका उम्मेदवारले सहज जित निकाल्नुपर्ने भए पनि त्यस्तो भएन । प्रतिस्पर्धा बढी भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal