आज :

काठमाडौंको मतगणनामा किन हुँदैछ ढिलाइ ? खुल्यो यस्तो रहस्य

काठमाडौँ । काठमाडौं महानगरपालिकामा भइरहेको मतगणनाको विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रोश र ब्यङ्ग्य भइरहेको छ । अन्तिम मतपरिणाम आउँदा हाल चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह बुढो हुनेदेखि मतगणना गर्न विजय शाहीलाई बोलाउनुपर्ने सम्मका अभिव्यक्ति दिएका छन् ।

अनि कतिपयचाहिँ लकडाउनको बेलामा एक किलो चामलमा कति वटा दाना हुन्छन् भन्दै गन्नेलाई मतगणनामा बोलाउनुपर्ने भन्दै मजाक गरिरहेका छन् ।

यो मजाक यसकारण आइरहेको छ कि अहिलेकै गतिमा मतगणना हुने हो भने मत परिणाम आउन करिब ३४ दिन लाग्ने देखिन्छ । किनभने काठमाडौं महानगरपालिकामा १ लाख ९० हजारभन्दा केही बढी मत खसेको छ । र, अहिलेकै गतिमा यो मत गन्न ३४ दिन लाग्नेछ ।

अहिले मतगणना ढिलाइ हुँदा यसको सबै दोष मतगणक वा त्यहाँ खटिएका कर्मचारीलाई मात्रै लगाइएको छ । तर कर्मचारीकै कारण मतगणनामा ढिलाइ भएको भने पक्कै होइन । यसको प्रमुख रहस्य भने भनेको काठमाडौंमा उम्मेदवारको सङ्ख्या बढी हुनु, मतपत्र लामो र ठूलो हुनु लगायतका कारण हुन् ।

आखिर किन ढिलाइ भइरहेको छ त काठमाडौं महानगरको मतगणना ? मुख्य निर्वाचन अधिकृत रहेका काठमाडौं जिल्ला अदालतका एक नम्बर न्यायाधीश राजुकुमार खतिवडाले धेरै उम्मेदवार र उनीहरुका प्रतिनिधि हुँदा मतगणनामा ढिलाई भएको बताए ।

काठमाडौंमा ६४ लहरको मतपत्र
काठमाडौं महानगरपालिकाको मतपत्र देशका अन्य स्थानीय तहको भन्दा ठूलो छ । काठमाडौं महानगरपालिकामा धेरै उम्मेदवार भएको कारण मतपत्र लामो भएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए । खतिवडाका अनुसार काठमाडौं महानगरपालिकाको मतपत्र ६४ लहरको छ ।

काठमाडौं महानगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५५ जनाले मेयरमा मात्रै उम्मेदवारी दिएका छन् । ५५ जना मेयरका लागि ५५ लहर, अनि उपमेयरमा उम्मेदवारी दिने अन्य राजनीतिक दल, स्वतन्त्र आदि कारणले ६४ लहरको मतपत्र बनाउनु परेको खतिवडाले बताए ।

६४ लहरमा मतपत्र बनेको कारण कुन चुनाव चिन्हमा मतदान भएको छ, त्यो खोज्न पनि समय लाग्ने गरेको छ । त्यसबाहेक क्रस भोटिङसमेत हुने कुनै राजनीतिक दलमा, कुनै स्वतन्त्रमा मतदान हुने भएको कारण पनि मतगणनामा समय लागेको छ ।

त्यसबाहेक ५५ जना मेयर, अनि वडामा उठ्ने अन्य राजनीतिक दल गरी करिब ७० जना उम्मेदवार हुने भएकाले उनीहरुको सबै खोज्दा समय लाग्ने गरेको खतिवडाले बताए । करिब ७० जना उम्मेदवारमध्ये ७ वटा मात्रै छाप लगाउने र त्यही सातवटा छाप खोज्दा समय लाग्ने गरेको खतिवडाले बताए ।

मतपत्र राख्ने प्याडका कारण मतपत्र च्यातिने समस्या
मतदानका क्रममा मतपत्र राख्न निर्वाचन आयोगले प्लाष्टिकको प्याड दिएको थियो । तर उक्त प्याड काठमाडौं महानगरपालिकाका लागि सानो भयो । ६४ लहरको मतपत्रका कारण ठूलो बनेको मतपत्र राख्न सम्भव भएन । त्यसकारण मतदाताले स्वस्तिक छाप लगाउँदा पनि प्याडभन्दा बाहिर परेर कतिपय मतपत्र च्यातिएको छ । च्यातिएको उक्त मतपत्रका कारण मतचिन्ह चिन्नका लागिसमेत कठिनाई भइरहेको छ । अनि च्यातिएको मतपत्र सदर गर्ने कि बदर भन्ने विषयमा पनि बेलाबेलामा विवाद हुने हुँदा समस्या भइरहेको छ ।

गुणस्तरहीन स्वस्तिक छाप र स्ट्याम्प प्याड
काठमाडौंको मतगणनामा ढिलाई हुनुको अर्को कारण भनेको स्वस्तिक छाप र स्ट्याम्प प्याड गुणस्तरहीन हुनु पनि हो । स्ट्याम्प प्याड गुणस्तरहीन रहेको र छिट्टै सुक्ने प्रकृतिको नरहेको कारण मतपत्र पट्याउँदा कतिपय मतपत्रमा मसी लतपतिएको छ । त्यस्तै स्वस्तिक छाप पनि गुणस्तरको नहुँदा कहीँ कहीँ थोरै मात्रै छाप लागेको छ । थोरै छाप लागेको मतपत्रमा सदर वा बदर के गर्ने भन्ने सम्बन्धमा बेलाबेलामा विवाद भइरहेको हुन्छ । विवाद भएपछि समाधान गर्न पनि समय लाग्ने भएकाले मत गणनामा ढिलाई भइरहेको छ ।

कर्मचारीको अभाव
मतगणना ढिलाई हुनुको अर्को कारण मतगणकको कमी पनि रहेको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार अहिले ६ स्थानमा मतगणनाको काम भइरहेको छ । तर यी ६ स्थानमा मतगणना गर्दा एक सिफ्टमा बढीमा ८ घण्टा भन्दा लामो समय काममा लगाउन सकिँदैन । कर्मचारीको सिफ्ट चेञ्ज गर्न पनि कर्मचारी आँफैले खोज्नुपर्ने समस्या छ । निर्वाचन अधिकृत वा मुख्य निर्वाचन अधिकृतले नै गणकको व्यवस्था गर्नुपर्ने भएकाले सिफ्ट चेञ्ज गर्ने क्रममा कर्मचारी ल्याउन पनि समस्या भएको छ ।

एकमात्रै निर्वाचन अधिकृत हुँदा समस्या
निर्वाचन प्रक्रिया र मतगणना प्रक्रियाका लागि पनि एकजना मात्रै निर्वाचन अधिकृत वा मुख्य निर्वाचन अधिकृत रहन्छन् । मतगणनाको क्रममा विवाद आएको अवस्थामा उक्त विवादको निरुपण गर्ने जिम्मा र अधिकार निर्वाचन अधिकृतलाई मात्रै हुन्छ । तर एकै निर्वाचन अधिकृत लगातार काम गर्नुपर्ने भएकाले थकान, तनाब आदि कारणले काम गर्न नै नसक्ने भइसकेका हुन्छन् ।

६ वटा स्थानमा राखेर मतगणना गर्दा त्यहाँ विवाद आयो भने मुख्य निर्वाचन अधिकृत नै विवाद समाधानका लागि जानुपर्छ । जसका कारण विवाद आएको अवस्थामा गणना गर्न पनि त्यहाँ समस्या नै हुन्छ । विवाद समाधान गर्न समय लाग्ने भएकाले बेलाबेलामा सोही कारण ढिलाई हुन्छ ।

गणकलाई तालिम छैन, कार्यालय स्थापना पनि ढिलो
मतगणनामा ढिलाई हुनुको अर्का कारण गणकलाई तालिम नहुनु पनि हो । मतगणनामा सहभागी भएका सबै कर्मचारीलाई तालिम दिन सकिएको छैन । कतिपय कर्मचारी गणनाका क्रममा मात्रै आएका छन् भने कतिपय कर्मचारी अन्तिम समयमा मात्रै आएको कारण उनीहरुलाई गणनाबारे तालिम दिन सकिएको थिएन । निर्वाचन अधिकृतको कार्यालय वैशाख ८ गतेमात्रै स्थापना गरिएको कारण पनि तालिम लगायतका काम गर्न सकिएको थिएन । व्यवस्थापकीय कामले नै समय खाएको कारण मतगणनाको तालिम दिन नसक्दा कर्मचारीले तीव्रगतिमा मतगणना गर्न सकिरहेका छैनन् ।

कोठा सानो हुँदा विवाद बढी
यसपटक निर्वाचन आयोगले छापेको मतपत्रको एक चिन्हदेखि अर्को चिन्हसम्मको कोठा सानो छ । ६४ लहरको काठमाडौं महानगरको मतपत्र झनै ठूलो तर कोठा सानो भएको कारण स्वस्तिक छाप लगाउने क्रममा तल वा माथिको चिन्हमा समेत छोएको पाइएको छ । त्यसरी तल वा माथि छोएपछि दुवै पक्षले विवाद गर्ने गरेको र विवाद समाधान गर्न समय लाग्ने गरेको छ । त्यही विवादका कारण लामो समय लाग्ने गरेको काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।

२०७४ सालको निर्वाचनमा गणनाका लागि लागेको थियो १७ दिन
यसअघि २०७४ सालको निर्वाचनको मतगणना सम्पन्न गर्न काठमाडौं महानगरपालिकामा १७ दिन लागेको थियो । यसपटक पहिलेभन्दा २० हजार मतदाता बढेको र मतपत्रको लहर पनि बढेको कारण यसपटक अझै बढी समय लाग्न सक्ने मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal