
लमजुङ । हिमाली जिल्ला मनाङका ३ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठकपछि चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना राति नै हुने बताए ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज खनालका अनुसार नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने भएको छ ।
मनाङमा ६२.६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको छ । नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३.०१ प्रतिशत मत खसेको छ ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७.८५ प्रतिशत मत खसेको छ ।
यता ललितपुर महानगरपालिकामा मतगणनाका लागि शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भएको छ । ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले बैठकलगतै मतगणना सुरू गर्ने बताए ।
ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कूल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।
ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कूल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।
ललितपुर मेयरमा पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य छन् । एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य छन् ।