आज :

‘बाकसमा’ कैद भयो ३५ हजार २ सय २१ जनप्रतिनिधिको भविष्य, मतदानको समय सकियो

काठमाडौँ । स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो।

तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ। देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो।

निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। यद्यपि अन्तिम विवरण आउन बाँकी छ। देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् ।

जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् । मतदाताले मतदान गरिसकेकाले निर्वाचित प्रतिनिधिको भविष्य अबको केही समय बाकसमा कैद हुन पुगेको छ ।

कति छन् चुनावी मैदानमा प्रतिस्पर्धी ?
७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ जना र महिला उम्मेदवार ५५ हजार ६ सय ९८ जना रहेका छन् । ​

यो सङ्ख्याबाट जम्मा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । साथै हालसम्म ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । ​

यस्तो छ मतदाताको आँकडा
यो निर्वाचनका लागि योग्य मतदाता सङ्ख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । जसमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना रहेका छन्, महिला मतदाता सङ्ख्या ८७ लाख ४१ हजार ५ सय ३० तथा अन्य मतदाता १ सय ८३ जना रहेका छन् । ​

यस्तो छ दलको सङ्ख्या : १४ दलले उम्मेदवार नै उठाएनन्
स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । तर यी दर्ता भएका सबै दलले चुनावमा उम्मेदवार मनोनयन गराएनन् । यसरी दर्ता गराएर एउटा पनि उम्मेदवारी मनोनयन नगराएका दलको सङ्ख्या १४ रहेको छ । निर्वाचनमा मनोनयन गराएर हाल ६५ दलले निर्वाचनमा सहभागिता जनाएका छन् ।

प्रदेश अनुसार स्थानीय तह, मतदान केन्द्र र मतदाताको अवस्था यस्तो छ : प्रदेश नम्बर १
यो प्रदेशमा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिका गरी जम्मा १ सय ३७ पालिका रहेको छ । यो प्रदेशमा ११ सय ५७ वडा रहेका छन् । कुल मतदाता सङ्ख्या ३३ लाख ४७ हजार ३ सय ८४ जना रहेका छन् । मतदान स्थल १ हजार ८ सय ७७ र मतदान केन्द्र ४ हजार ५१ रहेका छन् ।

मधेस प्रदेश
यो प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह रहेका छन् । यो प्रदेशमा १२ सय ७१ वटा वडा कार्यालय रहेको छ । आज भइरहेको स्थानीय तह चुनावका लागि ३३ लाख ३१ हजार १ सय ७० मतदाता रहेका छन् । मतदान स्थल २ हजार १ सय ६३ रहेको छ भने मतदान केन्द्र ४ हजार १ सय ८९ रहेको छ ।

बागमती प्रदेश
यो प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका, ७४ गाउँपालिका गरी १ सय १९ पालिका रहेका छन् । यो प्रदेशमा ११ सय २१ वडा रहेका छन् । कुल मतदाता सङ्ख्या ३४ लाख १२ हजार ८ सय ६९ रहेका छन् । १ हजार ७ सय ९२ मतदान स्थल रहेको छ भने ४ हजार ९५ मतदान केन्द्र रहेका छन् ।

गण्डकी प्रदेश
यो प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका, ५८ गाउँपालिका गरी ८५ पालिका रहेका छन् । यो प्रदेशमा ७ सय ५९ वडा रहेका छन् । कूल मतदाता सङ्ख्या १७ लाख ८९ हजार ४ सय ११ रहेका छन् भने १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्र रहेका छन् ।

लुम्बिनी प्रदेश
यो प्रदेशमा एउटा पनि महानगरपालिका रहेको छैन । ४ उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका गरी १ सय ९ पालिका र ९ सय ८३ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदान स्थल १ हजार ६ सय २९ र ३ हजार ८ सय ३२ मतदान केन्द्र रहेका छन् ।

कर्णाली प्रदेश
यो प्रदेशमा महानगर तथा उपमहानगरपालिका रहेको छैन । नगरपालिका २५, गाउँपालिका ५४ गरी ७९ पालिका रहेका छन् । जहाँ ७ सय १८ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदाता १० लाख १ हजार २ सय ८२ रहेका छन् । ९ सय ७ मतदान स्थल र १३ सय ८५ मतदान केन्द्र रहेका छन् ।

सुदूरपश्चिम प्रदेश
यो प्रदेशमा १ उपमहानगरपालिका, ३३ नगरपालिका, ५४ गाउँपालिका गरी ८८ पालिका रहेका छन् भने ७ सय ३४ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदाता १६ लाख ३२ हजार १ सय ५० रहेका छन् । मतदान स्थल ११ सय ३५ रहेको छ भने मतदान केन्द्र २१ सय ३ रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal