आज :

कतिबेलादेखि सुरु हुन्छ मतगणना ? निर्वाचन आयोगले दियो यस्तो जानकारी

  • अनलाइन डबली

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझदेखि मतगणना सुरू हुने भएको छ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणना कार्य सुरू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार २ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो।

छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरूद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ।

यसैबीच निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

‘मतपत्र गोप्य हुन्छ। गणना निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था छ। बाबुराम भट्टराईज्यूले मतपत्र सार्वजनिक गर्नु भयो,’ कुरा गर्दै थपलियाले भने, ‘उहाँ(बाबुराम भट्टराई)लाई २४ घण्टे स्पष्टीकरण सोधेका छौँ। उहाँको मतपत्र खिच्ने मोबाइल क्यामेरा भित्र कसले लग्न दियो? निर्वाचन अधिकृतले किन रोक्ने काम गरेनन् भनेर उहाँलाई समेत स्पष्टीकरण सोधेका छौँ ।’

आयोग कानुनको पालना मात्र गर्ने निकाय भएकाले आचारसंहिता कडाइका साथ पालना गरिएको थपलियाले बताए। शुक्रबार बाबुरामले मतदान गरेलगत्तै सामाजिक सञ्जाल मार्फत मतपत्र सार्वजनिक गरेका थिए।

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो ।

झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मतदान गराउन पहल भईरहेको उनको भनाइ छ ।

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको उनको भनाइ छ । दोलखा, रामेछाप, सर्लाही, पर्वत, हुम्ला, बाजुरा, दार्चुला, ओखलढुंगा, बारा, पर्सा, गोरखा, दैलेख लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान प्रभावित भएको प्रवक्ता केसीले बताए ।

झडपपछि स्थिति नियन्त्रणमा लिनलाई हवाइ फायर गर्नुपरेको उनको भनाइ छ । केही स्थानमा भने सेनाले स्थिति नियन्त्रणमा लिएको छ । केही स्थानमा भने रोकिएको मतदान पुनः सञ्चालन भइसकेको छ । केही ठाउँमा रोकिएको मतदान पुनः सुचारू गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।

मतदातालाई मत हाल्न सिकाएको आरोपमा मतदान अधिकृत प्रहरी नियन्त्रणमा
सर्लाहीमा मतदातालाई मत हाल्न सिकाएको आरोपमा प्रहरीले मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

मतदातालाई मत हाल्न सिकाएको आरोपमा सर्लाहीको बलरा नगरपालिका-३ स्थित पुरानो गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal