
काठमाडौं । नेकपा (बहुमत) ले पत्रकार सम्मेलन चितवन भेलाका निर्णय सार्वजनिक गर्ने जनाएको छ । शुक्रबार चितवनमा विशेष राष्ट्रिय भेला सकिएलगत्तै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।
आइतबार दिउँसो १ बजे संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । भेलाले रणनीतिक कार्यक्रम- वैज्ञानिक समाजवाद, कार्यदिशा- समाजवादी क्रान्ति, कार्यनीति- स्वाधीन संयुक्त सरकार हुने निर्णय गरेको छ ।
चुनाव न उपयोग न बहिस्कारको निर्णय उलंघन गरेको भन्दै सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई कारवाही गरेर नयाँ पार्टी बनाएका थिए । भेलाले विप्लवले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई समेत खारेज गरेको छ ।
त्यसैगरी भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । पार्टीको ९ महाधिवेशन आगामी फागुन १ गते हुने गर्ने पनि निर्णय गरेको छ ।
पार्टीको शिवगढीमा सम्पन्न १२ औ केन्द्रीय समिति बैठकमा बहुमतले गरेको निर्णय विप्लव र प्रकाण्डले उलंघन गरेपछि विवाद सुरु भएको थियो । पार्टीबाट आधिकारिक उम्मेदवार नउठाउने र कोही स्वतन्त्र उठ्दा पार्टीको जिम्मेवारीबाट राजिनामा दिनु पर्ने शिवगढी बैठकले निर्णय गरेको थियो । त्यस्तै, एमसीसीको विपक्षमा रहेका उम्मेदवारलाई सघाउने समेत बताएपनि पार्टीकै केन्द्रीय सदस्यहरुलाई नै चुनावमा पठाएपछि सुरु भएको विवाद फुटमा पुगेको छ ।
भेलामा संयाेजक धर्मेन्द्र बास्ताेलाले राजनीतिक प्रतिवेदन पेश गर्दै विप्लवमा राजनीतिक, दार्शनिक र संगठनात्मक रुपमा देखा परेका समस्याका कारण पार्टीलाई संसदवादमा पुर्याउन लागेकाले आफूहरुले विद्रोह गरेको बताए ।
बास्तोलाले विप्लव दार्शनिक रूपले सारसंग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, संगठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भएकोले एकीकृत जनक्रान्ति असफल भएको दाबी समेत गरे ।
एक नेताका अनुसार भेलाले देशभर पार्टी पुनर्निर्माण अभियान सुरु गरिनेछ । त्यो दुईदेखि तीन महिनासम्मको कार्यक्रम बनाइनेछ । त्यसपछि राष्ट्रिय भेला बोलाउने र राजनीतिक दस्तावेजलाई थप समृद्धि गर्ने र केन्द्रीय समितिको बिस्तार गर्ने नेकपाको तयारी छ । पार्टीको नाम नयाँ राख्ने वा यही राख्ने भन्नेबारे पनि भेलामा छलफल भएको छ ।
अहिलेलाई नेकपा नै राख्ने धेरै नेताहरुको सुझाव दिएका छन् । सबै कमिटी पुनर्गठन नभएसम्म नेकपा नै नाम राख्न सुझाव धारणा राख्ने नेताहरुले दिएका छन् । विप्लवले पार्टीको निर्णय उलंघन गरेकोले नेकपाको नेतृत्व हुने नैतिक हैसियत गुमाइसकेको नेताहरुले बताएका छन् ।