
काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार डंगोलले आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजुरी परेको हो ।
सुरुमा मेयरको उम्मदेवारी घोषणा गरेकी र पछि एमालेबाट उपमेयरकी उम्मेदवार बनेकी डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको उजुरीमा उल्लेख छ ।
काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ । नाम नखुलाँई दिइएको उजूरी १६ वैशाखमा दर्ता गरिएको देखिएको छ ।
अख्तियारको नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ दर्ता भएको उजुरीमा छ । उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।
उजुरीमा भनिएको छ-काठमाडौँ महानगरपालिका रहेको शहरी विकास परियोयना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाज शास्त्र विषयमा स्नातक रहेको व्यक्ति काठमाडौँ जिल्ला महानगरपालिका वडा नम्बर २१ फसिगाँ बस्ने सत्तु डंगोलको छोरी सुनिता डंगोलले आफूल्े प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनी आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ बर्षदेखि काठमाडौँ मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्ति लिई मासिक रु. ८०,०००। (असी हजार) गैरकानूनी रुपमा प्राप्त गर्नु भएको छ । भ्रष्टाचार निवावरण ऐन, २०४९ को दफा १६ मा सार्वजनिक निकायको राष्ट्र सेवकको ओहादा, नियुक्ति हैसियत तथा सुविधा प्राप्त गर्न झुट्टा विवरण दिएमा भ्रष्टाचारजन्य कसुर कायम हुने कानूनी व्यवस्था भएको र सुनिता डंगोलले झुटा विवरण दिई काठमाडौँ मनापाबाट शैक्षिक योग्ता ढाँटी प्राविधि व्यक्ति चाहिेनमा अप्राविधिक व्यक्तिले गैरकानूनी नियुक्ति लिन सफल भई गैरकानूनी रुपमा आर्थिक लाभ लिएकीले निजको सम्पूर्ण फाइल काठमाडौँ महानगरबाट झिकाई नियन्त्रणमा लिई अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा १६ को कुसरमा सजाय गराई निजले प्राप्त गरेको रकम तथा जरीवाना समेत असुल उपर गराई पाउँ ।
सुनिताविरुद्धको यो उजुरी सार्वजनिक भएसँगै एमालेमा खैलाबैला मच्चिएको छ । कुनै कारण मेयरमा केशव स्थापितले नजितेपनि सुनिताले जित्ने आश गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे नेताहरुसँग बुझेको बताइएको छ ।