काठमाडौँ । सत्ता गठबन्धनले आपसी एकता कायम गरेर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न निर्देशन दिने निर्णय गरेको हो । आइतबार विहान बसेको बैठकले गठबन्धन दलहरुले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा नोटिसमा भनिएको छ, “पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने ।”
बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।