आज :

सदिह परिवारको संयुक्त विज्ञप्तिः विप्लव–प्रकाण्डले धोका दिए, सहिदका सपनामाथि लात

  • अनलाइन डबली

काठमाडौँ । एकीकृत जनक्रान्तिका महान् सहिदका परिवारहरूले नेकपाका महासचिव विप्लव र खड्बहादुर विश्वकर्माले धोका दिएको बताउका छन् । विहीबार एकीकृत जनक्रान्तिको क्रममा सहिद भएका परिवारले संयुक्त विज्ञप्ति जारी गरेर विप्लवको विज्ञप्ति धोका भएको बताएका छन् ।

विज्ञप्तिमा नयाँ सपना बोकेर एकीकृत जनक्रान्तिको यात्रामा होमिएका हजारौँ जनता, नेता–कार्यकर्ताहरूको सपनामाथि बुधबार नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिले कुठाराघात मात्रै नभएर गम्भीर प्रकारको धोका भएको उल्लेख गरिएको छ । विप्लव–प्रकाण्डलाई सच्चिन, पार्टी केन्द्रीय समितिले गरेको निर्णयबाट नभाग्न र पार्टी विघटनको वक्तव्य फिर्ता लिन महासचिव विप्लवलाई सहिद परिवारले अपिल समेत गरेका छन् । उनीहरुले विचलन र संसदीय फोहोरी खेलमा रमाउन सहिदका सपनामाथि लात हानेको ठहरिने समेत बताएका थिए ।

सहिद कृष्णप्रसाद भण्डारी ‘निरन्तर’ की जीवनसँगिनी पुनमाया डङ्गोल भण्डारी, सहिद प्रज्वल शाहीका बहिनीहरू मनीषा र कलशा शाही, सहिद गोकुल रानामगर ‘महान’ की जीवनसँगिनी मालती रानामगर, सहिद विभुराम विक ‘दीपेन्द्र’ की जीवनसँगिनी बिना सुवर्णकार, सहिद रामकमार श्रेष्ठकी आमा मीनामाया श्रेष्ठ र सहिद गोकुल रानामगर ‘महान’ को दाई सुरेन्द्र रानाले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू विप्लव–प्रकाण्ड गुटको पलायनवादी, अवसरवादी, संशोधनवादी र चुनावपरस्त लाइनमा नभएर क्रान्तिकारी लाइनमा रहेको प्रस्ट पारेका हुन् । उनीहरूले विप्लव–प्रकाण्ड नसच्चिए क्रान्तिको झन्डा बोक्न क्रान्तिकारी नेता–कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

“नेपालको क्रान्तिकारी आन्दोलन भीषण क्रान्ति र प्रतिक्रान्तिका उतारचढावका बीचबाट अगाडि बढिरहेको छ । महान् जनयुद्धको १० बर्से ऐतिहासिक आन्दोलन सफलता उन्मुख हुँदै गर्दा लाखौँ जनता, हजारौँ सहिद, बेपत्ता र योद्धाहरूको सपनाको चिरहरण गर्दै प्रचण्डले सिङ्गो माओवादी आन्दोलनलाई संसदीय फोहोरी खेलमा लगेर विघटन गरे । माओवादी आन्दोलनमा देखिएका विचलन र विसर्जनबाट विद्रोह गर्दै किरणसम्म आइपुग्दा विचार, राजनीतिक उच्चतासहित गरेको विद्रोह गतिहीन भएको भन्ने निष्कर्षसहित एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दै दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको सपना बोकेर विप्लवको नेतृत्वमा नेकपा गठन भयो । वर्तमानको व्यवस्था, संविधान, नियम, कानुनविरुद्ध नयाँ व्यवस्थाको परिकल्पना गरेको नेकपा र नयाँ सपना बोकेर एकीकृत जनक्रान्तिको यात्रामा होमिएका हजारौँ जनता, नेता–कार्यकर्ताहरूको सपनामाथि बुधबार नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिले कुठाराघात मात्रै होइन, गम्भीर प्रकारको धोका भएको छ । फेरि पनि हामी एकीकृत जनक्रान्तिका सहिद परिवार विप्लव–प्रकाण्डलाई सच्चिन, पार्टी केन्द्रीय समितिले गरेको निर्णयबाट नभाग्न र पार्टी विघटनको वक्तव्य फिर्ता लिन महासचिव विप्लवलाई अपिल गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई गरिएको कारवाही विप्लवको आफ्नो लक्ष्य, विचार र आन्दोलनबाट भागेको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा अगाडि भनिएको छ, “पार्टीमा देखिएका समस्याहरूलाई छलफल र बहसबाट भागेर पार्टीको महासचिवले पार्टी विघटनको घोषणा गर्नु आपत्तिजनक मात्रै नभई आफ्नो लक्ष्य, विचार र आन्दोलनबाट भागेको पुष्टि भएको छ । एकीकृत जनक्रान्ति विशाल जनता, सयौँ–हजारौँ नेता–कार्यकर्ता तथा १२ जना हाम्रा प्रियजनको रगतले लत्पतिएको अतुलनीय देन, मेहनत र पसिनाको सङ्गम हो नेकपा । सिङ्गो पार्टीलाई मुठीभर मान्छेको अधीनमा राखेर क्रान्ति अगाडि बढ्न सक्दैन, न त हामीले खोजेको वैज्ञानिक समाजवाद स्थापना नै हुनसक्छ । अन्यथा नेकपाभित्र विप्लव–प्रकाण्ड गुटमा देखिएको गम्भीर प्रकृतिको वैचारिक विचलन धोका मात्रै नभई हामी सहिद परिवारको दृष्टिमा अक्षम्य अपराध हो भन्ने पुष्टि हुन पुगेको छ । यो प्रक्रियामा हामीले हाम्रा परिवारका १२ प्रियजन गुमायौँ । परिवारको सपनालाई समाज र देश बदल्ने उच्च चाहना राखेर एकीकृत जनक्रान्तिको मैदानमा होमिएका हाम्रा प्रियजन सपनाको बाटोमा केही पाइला नटेक्दै सामान्य सङ्घर्षमा गुमाउनु पर्दाको पीडालाई शब्दमा व्यक्त गर्न सकिँदैन । सुन्दर सपना बोकेका कलिला अनुहारहरू क्षणभरमै काठमाडौँका गल्लीबाट क्षतविक्षत शरीर र मासुका टुक्राहरू बलुटेर पशुपति आर्यघाट पुग्दै गर्दा टुक्रा परेका लाससँग हामीले प्रतिबद्धता गरेका थियौँ– हामी पार्टीको यो बाटोमा साथ दिनेछौँ । हामीले हाम्रो पार्टीलाई अभिभावक ठान्यौँ । घटनाबारे थुप्रै शङ्का, प्रमाण, बिमति पार्टीभित्र राख्यौँ । सामान्य बन्दको कार्यक्रममा बमको प्रयोग के थियो ? वा बमबारे केही पनि नजानेका मानिसलाई बम किन भिराइयो ? वा नेताका आफन्त किन प्रयोग हुँदैनन् यस्ता कार्यक्रममा ? यस्ता प्रश्न उठाउँदै गर्दा देश र राष्ट्रका लागि बलिदान भयो भन्ने विचारको उच्चताले जितिरह्यो ।”

विज्ञप्तिमा विप्लवले संसदीय फोहोरी खेलमा गएर नेकपा विघटन गर्ने चुनावी प्रस्तावले तीन बुँदे सहमतिप्रति उठेका आशंका सडकमा ल्याएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “तर ३ बुँदे सहमतिपछि नेकपामा देखिएको परिवर्तनले शङ्काहरू थुप्रै जन्मिए । अन्ततः विप्लवको यही संसदीय फोहोरी खेलमा गएर नेकपा विघटन गर्ने चुनावी प्रस्तावले सबै कुरा सडकमा ल्याइदियो । अतः अब विप्लव र प्रकाण्ड नसच्चिने हो भने धोका, बेइमानी, गद्दारी र राजनीतिक अपराधलाई हामी सहिद परिवारले काँध थाप्न नसक्ने कुरा स्पष्ट पार्न चाहन्छौँ र १२ जनाको हत्या केका लागि थियोे ? विप्लव–प्रकाण्डलाई जबाफ दिन अपिल गर्दछौँ । विचारबाट स्खलित भएका नेताहरूको आरोप–प्रत्यारोपले हामीलाई निकै दुःखी बनाएको छ । अब हामीले आशा गरेका विप्लव–प्रकाण्ड रहेनन् । हामी सहिद परिवारहरू क्रान्तिको झन्डा उठाउन नेकपाका क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई अपिल गर्दछौँ । हाम्रा प्रियजनको सपना सडकमा नसुकाउन हामी हातेमालो अवश्य गर्नेछौँ । साथै हामी सहिद परिवार, सहिदका सपना, जनता र नेकपाका समर्थक–शुभचिन्तकमाथि जुन अपराध भएको छ, यसको सम्पूर्ण हिसाब–किताब गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal