
काठमाडौं । मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकावासीको घरघरमा आइपुग्ने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार आज बिहान महाङ्कालचौरमा पानी आइपुगेको छ ।
विहान आइपुगेको पानी दिउँसो वितरण गरिने बताइएको छ । अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी रहेकाले पुरानो पाइपबाटै पानी पठाउने तयारी छ ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार विगतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्याएको र यसपालि पनि ती गाउँमा पानी पुग्नेछ ।
चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो । तर अहिले थोरैबाट वितरण सुरु हुँदैछ ।
मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाण्डौ आइपुगेको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढी/पहिरोले मेलम्चीमा क्षति गरेको थियो । काठमाण्डौ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ । तर वितरण भने मौसमअनुसार फरक पर्छ ।