
काठमाडौँ । अछामका एक युवक काठमाडौँको एक होटलमा मृत फेला परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला स्थायी घर भएका कमल रावल (किस्मत) काठमाडौँ नयाँ बसपार्कस्थित मित्रनगरको एक होटलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नयाँ बसपार्कस्थित मित्रनगरको पञ्चकन्य गेष्ट हाउसको कोठामा पंखामा घाँटीमा डोरी लगाएको अवस्थामा मृत फेला परेका थिए । शुक्रबार होटलले खबर गरेपछि प्रहरी निरिक्षक सुमन न्यौपाने नेतृत्वको प्रहरी टोली, अपराध महाशाखा, फरेन्सीक मेडिकल विभागको टोलीसहितको उपस्थितिमा डोरी काटिएको थियो ।
प्रहरीले मुचुल्का उठाएर रावलको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो । शव अहिले त्रिविमै राखिएको छ । उक्त होटलमा २४ दिन पहिलेबाट कमल बस्दै आएको बताइएको छ ।
घटना प्रकृति हेर्दा आत्मह’त्या गरेको देखिएको बताउँदै प्रहरीले अुनसन्धान भइरहेको बताएको छ । त्यस्तै, पोष्टमार्टम रिपोर्ट आउन पनि बाँकी छ । उनको पछिल्ला दिनका अभिव्यक्ति र टिकटकमा शेयर गरेका भिडियोको पनि प्रहरीले अध्ययन गरिरहेको छ ।