आज :

एकीकृत समाजवादीको चुनावी घोषणापत्रः निःशूल्क स्वास्थ्य सेवादेखि सुकुम्बासीको व्यवस्थापन

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्रमा स्थानीय तहमा निः शूल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने बताएको छ । मंगलबार ३७ प्रतिबद्धता सार्वजनिक गर्दै एकीकृत समाजवादीले शिक्षाको गुणस्तरमा सुधार ल्याउने, हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको छ ।

त्यसैगरी २०० युनिट बिजुली निःशुल्क दिने, कृषिबाट जनस्तरमा सुधार ल्याउन कार्यक्रम ल्याउने, घरेलु तथा ग्रामीण उद्योग विकासमा जोड दिने तथा आत्मनिर्भरतामा जोड दिने, उद्यमशीलता विकासमा जोड दिने, हरेक पालिकामा युवा विभाग र हरेक वडामा खेल मैदान बनाउने, खेलाडीलाई सम्मान र प्रोत्साहनको प्रतिबद्धता जनाइएको छ ।

यसबाहेक हरेक वडामा पार्क बाउने, फलफूलका बिरुवाले सडक सजाउने पालिकाहरूमा सुविधा सम्पन्न पुस्तकालय बनाउने, फोहोरलाई मोहोर बनाउने कार्यक्रम ल्याउने विषयलाई पनि प्राथमिकता दिइएको छ । सडक सञ्जाल विस्तार गर्ने, जातीय छुवाछुत मेटाउने, सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति विकासमा जोड दिने, बालबालिका विशेष कार्यक्रम ल्याउने, ज्येष्ठ नागरिकमैत्री कार्यक्रम, महिलाको हित, तेस्रो लिङ्गीको हकहित, अपाङ्गको हकहित र भुपू सैनिक तथा प्रहरीको सम्मान गर्ने प्रतिबद्धता, श्रमिकको हकहितलगायतका विषयमा प्राथमिकता दिइएको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले सार्वजनिक गरेको घोषणा पत्रलाई ‘जनमुखी स्थानीय सरकार ः विकास र समृद्धिको आधार’ नाम दिइएको छ । एकीकृत समाजवादीले स्थानीय तहमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने उल्लेख गरेको छ । निःशुल्क उपचारको व्यवस्था गर्ने र जटिल खालका शल्यक्रिया बाहेकका सबै उपचार स्थानीय अस्पतालबाट उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

माध्यमिक तहको शिक्षा पूरा गरेका विद्यार्थीका लागि सिक्दै र कमाउँदै (लर्न एन्ड अर्न) प्रणाली सुरु गर्ने प्रतिवद्धता एकीकृत समाजवादीको छ । ‘कृषि, स्वास्थ्य, प्रविधिमा उच्च शिक्षा हासिल गर्नका लागि स्थानीय सरकारद्वारा छात्रवृत्ति र सहयोगको व्यवस्था गरिने छ,’ घोषणा पत्रमा भनिएको छ ।

एकीकृत समाजवादीले घोषणापत्रमा मासिक पाँच हजार लिटर पानी निशुल्क वितरण गर्ने उल्लेख गरिएको छ ।
घोषणा पत्रमा हरेक वडामा खेल मैदान र पार्कको स्थापना गर्ने उल्लेख गरिएको छ । त्यस्तै, हरेक पालिकामा पुस्तकालय, गाउँ शहर सफा बनाउने, हरेक पालिकामा गुरुयोजना बनाइ सडक, ज्येष्ठ नागरिक क्लब, हरेक पालिकामा श्रम विभाग, पानीका स्रोत संरक्षण, आधुनिक प्रविधिको उच्चतम प्रयोगलाई पनि घोषणा पत्रमा समेटिएको छ ।

त्यसैगरी स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने बताइएको छ । “स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त तथा सुशासनका केन्द्र बनाउनका लागि हाम्रो पार्टीले विशेष अनुगमन गरी आवश्यक उपाय अवलम्बन गर्ने छ” घोषणा पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार दाखिला गरेकै दिन हाम्रा उमेद्वारहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता पनि गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal