काठमाडौँ । युक्रेनमा रुसी सैन्य कारवाही विजय उन्मुख पुगेको छ । रुसले ५३ औं दिनमा मारियोपोलमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न समय सीमा दिएको छ । रुसले दिएको समय सीमा सुरु भइसकेको छ । समय सुरु भएको केही घण्टाभित्र आत्मसमर्पण गरे उनीहरुको जीवन सुनिश्चित गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
मारियोपोलको स्टील कारखानमा लुकेर बसेका सैनिकहरुले फाट्टफुट फाइरिङ गरिरहेका छन् । शहरका अन्य सबै भाग रुसी सेनाको नियन्त्रणमा छ भने उक्त औद्योगिक क्षेत्रमामा भइरहेको सानो प्रतिरोध शान्तिपूर्ण रुपमा हटाउन यो निर्णय गरेको मस्कोले जनाएको छ । रुसको रक्षा मन्त्रालयले उक्त उद्योग क्षेत्रको अवस्था निक्कै खराब रहेको जनाएको छ ।
रुसी फौजहरूले मस्कोको समय अनुसार ६ बजे (०३ः०० जीएमटी समय) बाट कैयौँ घण्टासम्म एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा रहेका सबै सैनिकहरूलाई हतियार र गोलीगठ्ठा बिसाएको खण्डमा बाहिर जान दिने भएको छ । रुसी रक्षा मन्त्रालयले आत्मसमर्पण गर्ने सबैलाई युद्ध बन्दी सम्बन्धी जेलेभा महासन्धीको व्यवहार गरिने जनाएको छ ।
उक्त क्षेत्रमा रहेका फौजले अपीललाई स्वीकार गरे रुसी सेनाले ६ बजे रातो झण्डा देखाउने छ भने युक्रेनी फौजले सेतो झण्डा देखाउनु पर्नेछ । यसलाई मारियोपालस्थित युक्रेनी अधिकारीहरूले स्वीकार गरेको देखिन्छ । त्यसको कुनै खण्डन गरिएको छैन ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिवार रुसले मारियोपोलमा बाँकी रहेका सैनिकहरूको ह त्या गरे शान्ति वार्ता भङ्ग हुने चेतावनी दिएका थिए । यसै साता मारियोपोलमा १ हजार भन्दा बढी युक्रेनी सेनाले आत्मसमर्पण गरेका थिए । योसँगै रुसले मारियोपोल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको घोषणा गर्नेछ । जेलेन्स्कीले पनि मारियोपोल आफ्नो मुटु भएको बताउँदै रुसले कब्जा गरे ढुकढुकी बन्द हुने बताएका थिए ।
बन्दरगाहसँग जोडिएको मारियोपोल युक्रेनको महत्वपूर्ण केन्द्र हो । यहीबाट युक्रेनले निर्यत आयत गर्दै आएको थियो । मारियोपोल पूर्णरुपमा रुसको नियन्त्रण आएमा पश्चिमा देशहरुले पठाउने सैन्य सहयोग पनि अवरुद्ध हुनेछ । स्थल मार्ग हुँदै मारियोपोलबाट नेटो तथा पश्चिमा देशहरुले पठाएको सहयोग युक्रेनका अन्य शहरमा पुग्ने गरेको थियो । सामरिक महत्वको शहर भएकाले रुसी सेनाले सुरुदेखि मारियोपोललाई घेराबन्दी गर्दै आएको थियो ।
रूसले दिएकाे समय सीमाभित्र युक्रेनी फाैजले आत्मसमर्पण नगरे साे क्षेत्रबाट खरानी हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले समाचार सम्प्रेशण गरेका छन् ।