
काठमाडौं । चितवनको भरतपुर महानरपालिकामा नेकपा (एमाले) ले विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि थोरै मतले पराजित देवी ज्ञवाली फेरि उठ्ने चर्चा चलिरहेको बेला सुवेदीलाई एमालेले अगाडि सारेको छ ।
एमाले चितवनका इन्चार्ज समेत रहेका ज्ञवालीकै प्रस्तावमा प्रदेश सांसद समेत रहेका सुवेदीलाई मेयरको उम्मेदवारी टुंगो लागेको छ । सुवेदीको प्रस्तावक देवी ज्ञवाली र समर्थक एमाले नेता कृष्णभक्त पोखरेल रहेका छन् । एमाले महानगर कमिटीले सुवेदीको एकल नाम सिफारिस गरेको थियो ।
२०७४ सालमा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ख बाट सुवेदी विजयी भएका थिए । अष्टलक्ष्मी शाक्यको पालामा उनी सामाजिक विकास मन्त्री थिए ।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले त्यही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।
एमाले बागमती प्रदेश सचिव समेत रहेका सुवेदी एमाले चितवनका प्रभावशाली नेता मानिन्छन् । भरतपुर महानगरपालिका १२ का स्थायी बासी हुन् ।
उता सत्ता गठबन्धन दलहरुले भने अहिलेसम्म टुंगो लगाउन सकेको छैन । नेकपा माओवादी केन्द्र पुनः आफैले पाउनुपर्ने दाबी गरिरहेको छ भने नेपाली काँग्रेसका स्थानीय नेताहरु पाउनु पर्ने भन्दै केन्द्रमा डेलिगेसन आएका छन् ।
काँग्रेस नेताहरुले भरतपुर अघिल्लो पटक माओवादीले लिएको र यसपटक आफूले पाउनुपर्ने बताइरहेका छन् । यसबारे शिर्ष नेताहरुले टुंगो लगाउने बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पनि भएकोले माओवादीले भरतपुर महानगर नछोड्ने देखिन्छ ।
मेयर रेणु दाहालले राम्रो काम गरेको र केही काम निरन्तरतामा रहेकोले एक कार्यकाल उनलाई नै दिनुपर्ने माओवादीका प्रदेश र जिल्ला नेताहरुले केन्द्रमा दवाव दिइरहेका छन् । आजबाट निर्वाचन आउन ३२ दिन मात्रै बाँकी छन् । नेताहरुको दौडधुप बढेको छ ।