आज :

प्रचण्डको हातबाट जग्गाको लालपूर्जा पाएपछि आँपटारीका भूमिहीन दलित बस्तीमा खुशीयाली

चितवन । चितवनका भूमिहीन दलित समुदायले जग्गाको लालपूर्जा पाएपछि खुशीले गदगद भएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले चितवनको भरतपुरस्थित आँपटारीका भूमिहीन दलितहरुलाई जग्गाको लालपूर्जा वितरण गरेका थिए ।

अहिलेसम्म बसोबास गरेपनि लालपूर्जा नपाएका दलितलाई लालपूर्जा वितरण गर्दै प्रचण्डले भूमिहीनलाई जग्गाको धनी बनाउने सपना पूरा हुन लागेको बताए । नेपालमा भूमि समस्या समाधान नगरिकन समृद्धि नआउने भन्दै अध्यक्ष प्रचण्डले भूमिको उत्पादकत्व वृद्धि गर्ने, व्यावसायीकरण र आधुनिकीकरण गरेर अघि बढ्नुपर्ने बताए ।

“२०३६ सालदेखि जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र पछिल्लो पटक संविधान निर्माणका क्रममा मैले महुसस गरें कि जबसम्म हामीले नेपालमा भूमिहीन, सुकुम्बासी र गरिब किसानहरुलाई जमिनको मालिक बनाउन सक्दैनौं । भूमि समस्या समाधान गर्न सक्दैनौं । हामीले भन्ने गरेको समृद्धि आउँदैन” प्रचण्डले भने ।

स्याटेलाइट इमेजबाट नक्साङ्कन गरेर लालपूर्जा वितरण गरिएको नेपालमै पहिलो पटक भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भने, “भूमिहीन दलितहरुले लालपूर्जा प्राप्त गरेको दिन ऐतिहासिक प्रक्रिया शुरु भएको दिन त हुँदै हो, तर अत्याधुनिक विज्ञान प्रविधिको विकासलाई प्रयोग गरेर स्याटेलाइट इमेजबाट नक्सांकन गरेर लालपूर्जा वितरण गर्ने काम नेपालको इतिहासमा पहिलोपटक भरतपुर नगरपालिकाबाट भएको छ, यो हामी सबैका लागि खुसी र गर्वको विषय हो ।”

सोचेभन्दा निकै छिटो भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीहरुलाई लालपूर्जा दिने काम अघि बढिरहेको भन्दै अध्यक्ष प्रचण्डले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको दृढ इच्छाशक्ति, सिक्ने तीव्र अभिलाषा र काम फत्ते गरिछाड्ने अठोटले सफलता मिलेको बताए ।

“इमान्दारिता र दृढ इच्छाशक्तिका साथ राष्ट्र र जनताको पक्षमा काम गर्ने मन्त्री, राष्ट्रिय भूमि आयोग र कर्मचारी मित्रहरुको कामले यो सफलता मिलेको छ । इमान्दारिताका साथ सही मान्छेलाई सही जिम्मेवारी दिइयो भने असाधारण परिणाम आउन सक्छ भन्ने यसले फेरि पुष्टि गरेको छ” प्रचण्डले भने । राष्ट्रको साझा समस्या समाधान गर्न राजनीतिक उछिनापाछिन आवश्यक नरहेको भन्दै प्रचण्डले राष्ट्रिय सहमतिबाटै भूमि समस्याको दीर्घकालीन समाधान गर्न आग्रह गरे ।

महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने भन्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र अध्यक्षमा धेरै महिलालाई बनाउने आफ्नो चाहना भएको बताए । “महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र अध्यक्ष बनाउने विचार छ, बेइमानी जालझेल षड्यन्त्र धेरै नै कम हुँदो रहेछ। जिम्मेवारी बेग्लै खालको हुन्छ महिलाको” प्रचण्डले भने । उनले प्रचण्डले धेरै वर्षदेखि पुरुषले शासन गर्दै आएको भन्दै केही वर्ष महिलालाई शासन गर्न दिनुपर्ने पनि बताए ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएर लागिरहेको बताउनु भयो। मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहिन दलित र सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न सम्भव भएको बताइन् ।

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घर परिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ ।

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार आँपटारीका भूमिहीनहरुले लालपूर्जामा हस्ताक्षर गरेसँगै दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा धनी पुर्जा पाएका हुन् । “भूमि आयोगले निस्सा वितरण गरेको ३५ दिन र आयोगको टोली आएको ६३ दिनमै लालपूर्जा दिदा म निकै खुसी छु” उनले भनिन्, “महानगर प्रमुख रेनु दाहालले चुनावी वाचा गरे अनुसार लालपूर्जा दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले पाएका छन् ।”

चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना र कालिका नगरमा ५ हजार ५ सय ५९ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal