काठमाडौँ । विप्लव नेकपाको ९ दिनदेखि जारी केन्दीय समिति बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । चुनावमा सहभागी हुने सहितको महासचिव नेत्रविक्रम चन्दको प्रस्तावमा बहुमत जुट्न नसकेपछि न बहिस्कार र चुनाव उपयोगको मध्यमार्गी बाटो अपनाइएको एक नेताले बताए ।
महासचिव विप्लवले आज बसेको बैठकमा जवाफ दिँदै चुनावमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने तर कोही साथीहरु स्वतन्त्र उम्मेदवारी दिन सक्ने बताएका थिए । एक केन्द्रीय सदस्यका अनुसार स्थानीय स्तरको अवस्थाका आधारमा कोही साथीहरु चुनाव लड्न चाहे उम्मेदवारी दिन सक्ने तर पार्टीले चुनाव उपयोगको नीति नलिने विप्लव बैठकमा बताए ।
चुनाव उपयोग गर्ने राजनीतिक प्रतिवेदनमा विपक्षमा बहुमत पुगेपछि बैठक स्थगित गरेर महासचिव विप्लवले वान टु वान छलफल गरेका थिए । तर, चुनाव उपयोगको विपक्षमा उभिएका नेताहरु तयार नभएपछि नेत्रविक्रम चन्दले एक कदम पछि हट्दै मध्यमार्गी लाइन लिएको नेताहरुले बताएका छन् ।
चुनावको बेला पार्टीले नीतिगत रुपमा जनमत संग्रहको मुद्धालाई लिएर देशभर कार्यक्रम गर्नेछ भने चुनाव लड्नेलाई स्वतन्त्रता दिइएको छ । एक नेताले यस्तो मध्यमार्गी बाटोले पार्टीमा थप अन्यौलता र जन्माउने बताए । उनले चुनाव बहिस्कारका कार्यक्रम बनाएर जानेमा आफूहरुको जोड रहेको बताए । तर, चुनाव शसक्त बहिस्कार पक्षमा महासचिव र प्रवक्ता नरहेको एक केन्द्रीय सदस्य बताउँछन् ।
कुल ६८ केन्द्रीय सदस्यमा ४० जनाले चुनाव उपयोगको विरुद्धमा आफ्ना धारणा राखेका थिए भने २४ जनाले चुनावको पक्षमा । त्यस्तै, केही केन्द्रीय सदस्यहरुले जता गएपनि पार्टी एकढिका भएर जानुपर्ने भन्दै दुबै पक्षमा धारणा राखेनन् ।
पाँच जना सल्लाहकारमध्ये उपस्थिति चारै जनाले चुनाव बहिस्कारको पक्षमा मत राखेका थिए ।
पेलेर चुनावको पक्षमा निर्णय गरे पार्टी विभाजनको चेतावनी दिएपछि नेत्रविक्रम चन्द पछि हटेको बताइएको छ । पार्टी विभाजनले क्रान्ति कमजोर हुने भन्दै विप्लव मध्यमार्गी बाटो अपनाउन तयार भएको एक नेताले बताए । नेकपाले पार्टीमा लाइन संघर्षलाई अस्वीकार गरेपनि यो बैठकबाट दुइ लाइन प्रष्टै देखिएका छन् ।