
पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले फुटेर गएका १४-१५ समूह पार्टी एकताको लागि लाइनमा बसेको बताएका छन् । पोखरामा कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रचण्डले शान्ति प्रक्रियापछि कटवाल प्रकरण हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको बताए ।
जनताको बलमा र सही विचारको आलोकमा यहाँ पुगेको बताउँदै प्रचण्डले भने, ‘जनताको बलमा, सहि विचारको आलोकमा हामी यहाँ आईपुग्यौं, शान्ति प्रक्रियापछि कट्वालकाण्ड हुँदै पार्टी विभाजनको श्रृखंला शुरु भयो ।’ उनले त्यसपछि माओवादी एउटा, दुइटा हुँदै विभाजन भएको बताउँदै फेरि अहिले एकताको लहर पनि चलेको बताए ।
‘पार्टी विभाजन एउटा, दुईवटा, तीनवटा, कति हो कति ? अहिले फेरी एकता कति हो कति ?, अहिले फेरि एकताका लागि १४,१५ समुह लाइनमा छन्’ प्रचण्डले प्रशिक्षण कार्यक्रममा भने । प्रतिगमनविरोधि आन्दोलनमा आफु माइतीघर मण्डलामा पलेँटी कस्दा कतिले प्रचण्ड सकियो भन्ने गरेको स्मरण गर्दै प्रचण्डले आफुले पलेँटी केसकै कारण विशाल आन्दोलन बन्न पुगेर प्रतिगमन परास्त हुन पुगेको बताए ।
अध्यक्ष प्रचण्डले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । ओलीलाई रुपान्तरण गर्ने गरेको प्रयास असफल भएको बताए ।
माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको बताउँदै प्रचण्डले अहिलेको परिवर्तन जनयुद्धकै कारण सम्भव भएको बताए । उनले त्यो कुरा जनताले अहिले बुझिसकेको दाबी समेत गरे ।