काजीराम गौतम- कहिलेकहीँ बीसमा पढेको कुरा पचासमा दोहोर्याएर पढ्न खुब मज्जा लाग्छ । उबेला बुझाइएको र अहिले बुझेको कुराबीच पनि अन्तर बहुतै हुन्छ । यो बेला ती कुराहरूलाई जीवन भोगाइको आधारमा हेरिन्छ सायद अनि लाग्छ जस्तो भोगाई उस्तै अनुभूति ।
आज मलाई चिनियाँ आधुनिक साहित्यका संस्थापक भन्न मिल्ने लु सुन को ‘खोंग इची’ नामक छोटो कथाका बारेमा केही लेखौंलेखौं भाछ । खोंग इची एउटा छोटो कथा भित्रको दर्दनाक जीवन परिस्थिति भोगेको र समाजबाट परित्यक्त पात्र हो ।
कथामा ऊ उबेलाको चीनको राजशाही परीक्षा प्रणाली सिउछाई अन्तर्गतको परीक्षा उत्तिर्ण गरेर उच्च सरकारी ओहदा प्राप्त गर्ने उत्कट अभिलाषाका साथ स्वेई र थाड़ राजवंश काल देखि विद्यमान रहिआएको अनि कन्फुसियस र मेन्ससका पालामा निर्मित परीक्षा प्रणाली अनुरूप दर्शन, कला तथा साहित्य, राजनीति र चिनियाँ क्यालिग्राफी (सुन्दर चिनियाँ हस्तलेखन) आदिको गहिरो अध्ययन गर्छ । कति कुराहरू त उ कण्ठाग्र सुनाउन सक्छ । तर विडम्बना, ऊ परीक्षाबाट सीमित कोटामा छनौट हुने उच्च ओहदा प्राप्त गर्न सक्दैन । यसको सोझो अर्थ, उ भविष्यमा एउटा पढेलेखेको विद्वान भएपनि जीविकोपार्जनको कुनै माध्यम हात पार्न सक्दैन । एकातर्फ ऊ शिक्षित व्यक्तित्व हुँदै हो तर उसलाई सिउछाई परीक्षाले जीवनभर उठ्नै नसक्ने गरी लात मारेको हुन्छ ।
राज्यले उसको क्षमतालाई उपयोग गर्ने कुनै ठाउँ देख्दैन भने समाजले उसलाई जीविकोपार्जन गर्ने गतिलो माध्ययम नभएको भनेर हेला नै गर्छ, समाज उसको कुनै उपयोगिता देख्दैन । तर, ऊ आँफूलाई विद्वान नै ठान्छ र विद्वानले लाउने लामो गाउन लगाएर हिंड्छ अनि गरिवीको कारण लुचनको स्याङहङ रक्सी पसलमा एक प्याला रक्सीको लागि भिख माग्छ, अनि कसैले दिए उभिएरै रक्सी टोड्क्याउछ । हुन त चीनमा विद्वान र संभ्रान्त परिवारले रक्सी पसल भित्र आरामदायी कुर्सीमा बसेर खाने अनि गरीव र अपठितहरूले बाहिरै उभिएर खाने चलन छिङ राजवंशको लगभग अन्त्य सम्म मात्र नभई यो पुरै चालिसको दशक सम्मै कायम थियो । यसर्थ पनि खोङ इची लामो गाउनमा सजिएर उभिएरै रक्सी खाने हुनाले सामाजिक चलनको बर्खिलाफ एक हेलाको पात्र थियो । उसलाई आफ्नो ज्ञान प्रति गौरव थियो तर गरिवीले ग्रसित थियो । त्यसैले उसले एक प्याला रक्सीको लागि एक दिन पुस्तक चोर्यो र पक्राउ पर्यो । उसको चोरी प्रति जस्टिफिकेसन बडो घत लाग्दो हुन्छ, भन्छ किताब चोर्नु चोरी होइन, ज्ञान आर्जन गर्ने साधन चोर्नु कसरी चोरी हुन्छ ? समाज यो कुरा मान्दैन र अनुहार रातो हुनेगरी उ कुटाई खान्छ । सबैले यो कुराको उठान गरेर उसको उपहास गर्छन ।
चिनियाँ समाजले अहिले पनि खोङ इचीलाई सम्झन्छ तर उत्कृष्ट अभिलाषाको लक्ष्य लिएर हिँडेको एक असफल व्यक्तिको रूपमा । चिनियाँ समाजमा यस्तै दुखद जीवन जिउँन वाध्य र राज्यको अदुरदर्शिताको कारण समाजबाट समेत परित्यक्त अरू पनि थुप्रै लोक परिचित पात्रहरू छन । ती मध्ये साहित्यकार लु सुनकै अनुसार स्यानसङ इरान, स छि अनि मङ फूच केही प्रतिनिधि पात्र हुन ।
उपरोक्त कथाले उबेलाको चीनको जुनसुकै वस्तुस्थितिलाई उठान गरेपनि मेरालागि आँफू पचास पुगेपछि बेग्लै दृष्टिकोण पेश गरेको छ । खोङ इची ठूलो आदर्शको धरातलमा उभिएर कन्फुसियस र मेन्ससका दर्शनका किताबका ठेली हुबहु घोक्छन अनि परीक्षामा थोरै अंकले अरूभन्दा दुर्वल सावित हुन्छन । तर बारबारको त्यो दुर्वलताले उनलाई एउटा स्कलरको स्तर भन्दा तल निहुरिन पनि दिँदैन अनि पद, प्रतिष्ठा र सम्पन्नताको सिँढी उक्लिन पनि दिँदैन ।
त्यो कारणनै उनकालागि समाजमा हेलाको उपज हो, उनलाई समाजले हेर्ने हेयदृष्टिको उपज हो । यस कथाले पुस्तकका ठेली पढेर मात्र नहुने, बरू जीवनमा त्यसको सार्थक उपयोग हुनुपर्ने कुरालाई उठान गरेको छ भने म यसै कथाको मूल आशयलाई वर्तमान देशको परिस्थिति सँग दाँजेर पनि हेर्छु । हो, कन्फुसियसले पचास कटेपछि मानिसका इरादाहरू बदलिदैनन भनेकै छन । हाम्रा हिजोका इरादाहरू पनि बदलिनु हुन्न । तर लाग्छ, पटक पटक खोङ इची परीक्षामा असफल भएर स्कलरको भेषमा रक्सी टोड्क्याउँदै हिँडे झैं हाम्रा समाजका उत्कट अभिलाषाको भकारी भर्न हिँडेका खोंङ इचीहरू दिनानुदिन कङ्गाल मानसिकता तिर त रिटार्डेड हुँदै छैनन ? कुनै दिन उनीहरूको पनि हविगत पुस्तक चोरेर दिएको जस्टिफिकेसन पछिको खोङ इचीको जस्तो त हुनेछैन ?
(लेखक चीनको सीचुवान प्रान्तस्थित चाइना वेस्ट नर्मल यूनिभर्सिटीका विद्यार्थी हुन ।)