आज :

आकाश प्रतिबद्ध विद्रोही कम्युनिस्ट नेता, खाँडाचक्र नगरपालिकाका मेयरका आकांक्षी

  • अनलाइन डबली

कालिकोट । प्रतिबद्धताको हिमाललाई कसैले पगाल्न सक्दैन, कसैले खुर्कन सक्दैन र कसैले धसाउन सक्दैन भने झै कम्युनिष्टप्रति प्रतिबद्ध एक विद्रोही व्यक्तित्व हुन् गणेश बहादुर शाही (आकाश) । जसलाई भूमिगत कालमै पार्टीभित्रकै कतिपय नेताहरुले विभिन्न आरोप लगाए । उनलाई कारबाहीको धम्की दिइयो,उनको राजनैतिक विकासक्रममाथि अबरोध गरियो तरपनि उनी कम्युनिष्ट सिद्धान्त र आदर्शमा प्रतिबद्ध बनिरहे र छन् ।

बुवा हस्त बहादुर शाही र आमा जना शाहीको कोखबाट २०२८ साल मंसीर १० गते मान्म गाविसको वडा नम्बर ५ (हाल खाँडाचक्र नगरपालिका वडा नम्बर १) मा जन्मेका गणेश बहादुर शाहीले पंचदेव माविबाट २०४७ सालमा एसएलसी उत्तिर्ण गरे । २०४९ सालमा आर आर क्याम्पस काठमाडौंबाट आइ ए सम्मको अध्ययन गरे । उच्च शिक्षा अध्ययनकै शिलशिलामा उनी कम्युनिष्ट राजनीतिप्रति आकर्षित भए ।

सम्पन्न परिवारमा जन्मेका उनी कम्युनिष्ट राजनीतिमा कसरी आकर्षित बने भन्ने प्रश्नको जवाफ उनले यसरी दिए, – कम्युनिष्ट राजनीतिमा म आकर्षित हुनुमा पहिलो प्रेरणा मेरो मावली परिवार हो । मेरो मामा अग्र बहादुर शाही रास्कोट विजयपुरका जिम्मुवाल हुनुहुन्थ्यो । पछि उहाँ बडीमालिका मावि रास्कोटका संस्थापक प्रधानाध्यापक समेत हुनुभयो । उहाँ ‘बेन्नु’ मा आबद्ध हुनुहुन्थ्यो । बेन्नु भन्ने एउटा पुस्तक हो । यो पुस्तक मामाहरु कालिबहादुर शाही, प्रेम कैदी लगायत काठमाडौंमा अध्ययन गर्ने कर्णालीका युवाहरु मिलेर प्रकाशित गरिन्थ्यो । यसको पहिलो, दोस्रो र तेस्रो अंकहरु पढ्ने अवसर मैले पाएँ । यो पुस्तकमा ठकुरीहरुबाट दलितहरु र अन्य जातिहरुमाथि कसरी दमन गरिएको थियो भन्ने कुराको चित्रण थियो । पुस्तक प्रकाशित गर्ने मामाहरुले ठकुरी जातिहरुबाटै अन्य जातिहरुमाथि गर्ने शोषण,दमन,अन्याय, अत्याचारको बिरोध गर्नुभयो । यो कलेल शाहीहरुको ‘खानदानका ठकुरीहरु’ बाटै गरिएको न्यायोचित एउटा बिद्रोह थियो ।

त्यो किताबमा त्यसलाई बिजयपुरको बिद्रोह भनिएको छ । मेरा मामाहरु जसले अन्य जातिहरुमाथि अन्याय,अत्याचार गर्नुहुन्न भन्नु हुन्थ्यो उहाँले नै मलाई अन्यायको बिरोध गर्नुपर्छ कसैमाथि पनि अन्याय गर्नु दिनुहुन्न भन्ने कुरा सिकाउनुहुन्थ्यो । उहाँहरु राजनैतिक रुपले कम्युनिष्ट हुनुहुन्थ्यो भने सांगठनिक रुपमा पातलो मसालसंग आबद्ध हुनुहुन्थ्यो भन्ने मैले पछि थाहा पाएँ । त्यसै किताबमा पातलो मसाल र मोटो मशाल भन्ने कुरा उल्लेख थियो । मलाई पातलो मसाल र मोटो मशाल भनेको के हो भन्ने विषयमा बुझ्नुपर्छ भन्ने लाग्यो र अध्ययन गर्नतिर लागेँ र कम्युनिष्ट राजनीतिप्रति आकर्षित बने ।

अर्को वास्तविक प्रेरणाको श्रोत भनेको मेरो बुवा नै हो । किनकी मेरो बुवाले पारिवारिक बिद्रोह गर्नुभएको थियो । मेरो बुवामाथि अन्याय भएको थियो । मेरो लागि यो पनि एउटा बिद्रोहको प्रेरणा भयो । अर्को कम्युनिष्ट राजनीतिमा प्रेरित हुनुमा बहुदलीय व्यवस्थाको प्रभाव पनि हो । २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना हुँदा कांग्रेस र कम्युनिष्टको व्यापक चर्चा भयो । अनि मैले कम्युनिष्ट के हो भन्ने कुराको धेरै अध्ययन गर्न थाले र थप बुझ्ने मौका पाएँ । त्यसपछि म कम्युनिष्ट बने ।”

यसरी कम्युनिष्टप्रति आकर्षित बनेका उनी सांगठनिक रुपमा मोटो मशालमा आबद्ध भए । त्यसपछि मोटो मशाल निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु एघारौंको पंचदेव मावि मान्ममा २०४६ सालमा कमिटी गठन भयो । त्यसको उनी उपाध्यक्ष बने । रत्न बहादुर शाही अध्यक्ष बन्नुभयो । त्यसको केही समयपछि रत्न बहादुर शाही एमाले निकट अखिल पाँचौको अध्यक्ष बनेपछि उनी अखिल एघारौंको अध्यक्ष बने ।
उनी भन्छन्,“त्यसपछि म लगातार पार्टीमा आबद्ध भएँ र अहिलेसम्म छु ।”

२०४७ सालमा एसएलसि दिएर काठमाडौं पुगेका उनी त्यहाँ बिभिन्न आन्दोलनमा सरिक भए । मोटो मशालले संचालन गरेको मेची महाकालि अभियानमा सरि भए । २०४८ सालमा भएको यो अभियानका क्रममा उनी पटक पटक विभिन्न ठाउँबाट गिरफ्तार समेत भए । महेन्द्र पुलिस क्लबमा उनलाई दुइपटकसम्म राखियो । २०४९ सालमा नेत्र विक्रम चन्दको नेतृत्वमा काठमाडौंमा विद्यार्थी संगठन अनेरास्ववियु एघारौंको जिल्ला कमिटि बन्यो । उनी विद्यार्थीको जिल्ला कमिटीमा चयन भए र आरआर क्याम्पसमा अनेरास्ववियु एघारौंबाट स्ववियु उपसभापतिमा चुनाव लडे ।

त्यसपछि उनी आइएको अध्ययन सकिएपछि कालिकोट फर्किए । २०५१ सालतिरै उनी गाउँ गाउँमा भएको अन्याय र अत्याचार बिरुद्ध आवाज उठाउन थाले । प्रशासनले थाहा पाउने भएपछि उनी अर्ध भूमिगत अवश्थामा रहन थाले । जनयुद्ध सुरु हुनु पूर्व उनको कार्यक्षेत्र कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रह्यो । पार्टी आन्दोलन उठानका लागि उनी भूमिगत बने । २०५२ साल फागुन १ गते जनयुद्ध सुरु भएको दिन उनी मान्मको सल्लीबारीमा सेल्टर लिएर बसे । त्यहीदिनबाट कालिकोटमा खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’,रमेश विष्ट र कमल शाह पनि भूमिगत हुँदै माओवादी आन्दोलनमा पूर्णकालिन बने ।

जनयुद्ध सुरु हुँदै गर्दा उनी छापामार दलको सदस्य थिए । ०५४ मा मुगु, जुम्ला र आधा कालिकोटको भुभाग मिलाएर एउटा जिल्ला बनाइएको थियो, त्यो जिल्लाको उनी सेक्रेटरी भए ।०५८ मा आरबिएम भए । २०५९ मा जनसरकार उपप्रमुख हुँदै कार्यवाहक जनसरकार प्रमुखमा चयन भए । त्यसपछि आरबिएम बनेर उनी २०६१ को अन्त्यतिर जनमुक्ति सेनामा गए । त्यहाँ उनलाई स्कूलिङ विभागको जिम्मा दिइयो । २०६२ को सुरु तिर कम्पनि कमिसार हुँदै उनी २०६२ कै अन्त्यतिर बटालियन कमिसार बने । जनमुक्ति सेनामा रहँदा उनी ब्रिगेड कमिसारसम्म बने । शान्ति प्रक्रिया सुरु भएपछि उनी जिल्लातिर फर्किए । २०६३ को शान्तिप्रक्रियापछि विभिन्न आन्दोलनमा सरिक हुँदै केन्द्रिय सदस्य बने । उनी अहिले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको सदस्य छन् । अहिले उनलाई कालिकोटको स्कूलिङ विभाग प्रमुखको जिम्मा दिइएको छ ।

खाँडाचक्र नगरपालिकामा मेयरको चर्चाः

झण्डै ३० बर्षदेखि सक्रिय राजनीतिमा आबद्ध गणेश बहादुर शाही (आकाश) अहिले उमेरले ५० पुरा हुँदैछन् । उनको अवको इच्छा आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मेयर बन्ने हो । उनले कुराकानीका क्रममा आफू मेयरको आकांक्षी भएको बताए । उनले भने,“जसरी मैले हिजो उदाहरणीय रुपमा कर्णालीमै जनयुद्धको उठान गर्ने काम गरेँ । त्यसरी नै अब मैले खाँडाचक्रको मेयर बनेर उदाहरणीय काम गर्ने सोच बनाएको छु ।”

पार्टीले अहिले मेयरको टिकट दिन्छ भन्नेमा उनी ढुक्क छन् । उनी थप्छन्,“अघिल्लो स्थानीय चुनावमा पनि मैले मेयर बन्ने आकांक्षा देखाएको थिएँ तर मैले त्यतिबेला विभिन्न कारणले अर्को उम्मेद्वारलाई सहयोग गरेँ । अहिले त मलाई पार्टीले न्याय गर्ला नी ।” एक घर एक सदस्य रोजगार सिर्जना गर्ने लक्ष्य राखेको बताउने उनी आफू मेयर बनेपछि खाँडाचक्र नगरपालिकालाई कर्णाली प्रदेशकै नमुना पालिका बनाउने बताउँछन् । लामो समय कम्युनिष्ट आदर्श र सिद्धान्तमा प्रतिबद्ध उनलाई के नेकपा माओवादी केन्द्रले मेयरको टिकट देला ? यो प्रश्नको उत्तर पाउन चैत अन्तिमसम्मको समय कुनुपर्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal