आज :

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठकः बरिष्ठ उपाध्यक्षमा महरा, महासचिवमा प्रभाकरको चर्चा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनपछि अध्यक्ष निर्वाचित गरेर स्थगित बैठक पटकपटक स्थगित हुँदै आएको थियो । कोरोना र राष्ट्रिय राजनीतिक घटनक्रमका कारण स्थगित हुँदै आएको बैठक आज कमलादीमा बस्न लागेको हो ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार बैठकमा विहान ११ बजे बस्न तय भएको छ । आजको बैठकमा केन्द्रीय कमिटी विस्तार, पदाधिकारी चयन र कार्यविभाजन एजेण्डा भएको नेताहरुले बताएका छन् । मुख्यगरी पदाधिकारी चयन माओवादीमा सकस भएको छ ।

एमसीसी संसदमा पारितसँगै माओवादी केन्द्रभित्र केही नेता असन्तुष्ट रहेकै बेला बस्न लागेको आजको बैठक महत्वपूर्ण हुने अनुमान गरिएको छ । नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै एमसीसी अनुमोदन गर्ने अध्यक्ष प्रचण्डको निर्णयको विरोध गरिरहेका छन् । यसलाई कतिपय नेताहरुले बार्गेनिङको अर्थ लगाइरहेका छन् ।

आजको बैठकमा एमसीसीसँगै पदाधिकारी चयनबारे पनि छलफल हुनेछ । नेता वर्षमान पुन उपचारमा रहेको कारण देखाउँदै माओवादीले पदाधिकारी चयन गरेको थिएन । खासगरी महासचिव कसलाई बनाउने भन्नेमा अध्यक्ष प्रचण्डलाई अप्ठ्यारोमा छन् ।

पदाधिकारीमा मुख्यगरी दुईजना नेताले दाबी गरिरहेका छन् । संगठन विभाग प्रमुख समेत रहेका अर्थमन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ र वर्षमान पुनले महासचिवको दाबी गरिरहेका छन् । दुबै नेताले दाबी गरेपछि सहमतिमा पदाधिकारी चयन नहुने निश्चितजस्तै भएको छ । यदि सहमति नभए चुनावी प्रक्रियामा जाने नेताहरु बताउँछन् ।

त्यसैगरी देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेतको पनि महासचिवमा छलफल चलिरहेको छ । माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ ।

एक नेताका अनुसार प्रभाकर र पुन दुबैलाइ नभएर शक्ति बस्नेतलाइ महासचिव बनाउने छलफल पनि अध्यक्ष प्रचण्डले गरिरहेका छन् । चुनाव नलड्ने सहमतिमा पार्टीले जिम्मा दिए बस्नेत तयार रहेकाे बताउँदै अाएका छन् ।

अर्को बरिष्ठ उपाध्यक्षमा पनि नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले दाबी गरिरहेका छन् । श्रेष्ठले आफ्नो प्रतिस्पर्धी कोही नभएको ठानिरहेको बेला महराले मुख खोजेपछि असन्तुष्ट बनेको नेताहरु बताउँछन् । श्रेष्ठले एमसीसीमा असहमति देखाएर बरिष्ठ उपाध्यक्ष सुनिश्चित गर्न खोजेको केही नेताहरुले बताएका छन् । श्रेष्ठले एमसीसीलाई बहाना बनाएर विवाद झिके महरा पछि हटेर अध्यक्ष प्रचण्डलाई सजिलो बनाउन तयार रहेको एक नेताले बताए ।

त्यसैगरी आजै स्थायी समिति र पोलिट्ब्यूरो पनि कमिटीबारे पनि छलफल हुनेछ । बैठक लम्ब्याएर सहमति नभए चुनाव गरेरै भएपनि यसैपटक पदाधिकारीको टुंगो लगाउने अध्यक्षको तयारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal